संघर्षका सबै रुप प्रयोग गर्न तयार छौं: गुरुङ

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते ११:१८ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले सरकार र निर्वाचन प्रक्रियामा रहेका दलहरुविरुद्ध प्रतिरोध संघर्षमा उत्रने चेतावनी दिएको छ ।
Devसचिव देव गुरुङले आफ्नो पार्टी र ३३ दलीय मोर्चामाथि देशव्यापी सरकारी दमन बढेकाले प्रतिरोध संघर्षका सबै रुप प्रयोग गर्न लागिएको बताए ।

‘हाम्रो पार्टी र ३३ दलीय मोर्चामाथि देशव्यापी दमन र धरपकड तीव्र पारिएको छ’, पार्टी मुख्यालय बुद्धनगरमा मंगलबार सञ्चारकर्मीसँग गुरुङले भने, ‘राज्यले दमनको नीतिमा तत्काल पुनर्विचार नगरे प्रतिरोध संघर्षका सबै रुप प्रयोग गर्न सक्छौं ।’ उनले निर्वाचन बहिस्कार अभियानका क्रममा पूर्वाञ्चलबाट मात्र ३३ दलीय मोर्चाका ३१ जना कार्यकर्ता पक्राउ परेको बताए ।
भुमिगत नभएको प्रष्टीकरण
कार्यक्रममा सचिव गुरुङ र प्रवक्ता भुसालले आफूहरु भुमिगत वा अर्धभुमिगत भएको भन्ने समाचारहरुमा कुनै सत्यता नरहेको दाबी गरे । सचिव गुरुङले आफ्नो पार्टीका सबै नेता खुलै रहेको र पार्टीले खटाएको जिम्मेवारीमा रहेको बताए । उनले भुमिगत नभएको पुष्टि गर्न आवश्यक परे अध्यक्ष मोहन वैद्यको निवासमै पत्रकार सम्मेलन गर्न सकिने उल्लेख गरे । गुरुङ र भुसालले पूर्वमन्त्रीका हैसियतमा राज्यले उपलब्ध गराएको पिएसओ सँगै लिएर आएका थिए । उपाध्यक्ष सिपी गजुरेल र सचिव नेक्रविक्रम चन्दले पिएसओका कारण थप असुरक्षा महसुस भएको भन्दै फिर्ता गरेका थिए ।

हतियार नरहेको दाबी
गुरुङले आफूहरुसँग कुनै हतियार नरहेको दाबी पनि त्यस अवसरमा गरे । उनले प्रचण्ड–बाबुरामले जनसेना बुझाएलगत्तै आफूहरु निशस्त्र भइसकेकाले हतियार रहेको आरोप लगाउनुको कुनै तुक नरहेको जिकिर गरे । शान्ति कायम गर्न हतियार खोज्ने नाममा आफूहरुलाई फसाउने षड्यन्त्र भइरहेको सचिव गुरुङले बताए ।

सेना परिचालन फाँसीवादको अभ्यास
गुरुङ र भुसालले सरकारले निर्वाचन सुरक्षाका नाममा सेना परिचालन गरेर जनतालाई आतंकित पार्नुका साथै जंगी शासनको अभ्यास गरेको आरोप पनि लगाए । सेना परिचालनलाई प्रधानन्यायाधीशको सरकारपछि झनै डरलाग्दो विकल्पको तयारीका रुपमा आफूहरुले बुझेको भनाइ उनीहरुको छ । आन्तरिक मामिलामा सेना प्रयोग गरेर मुख्य दल र सरकारले राष्ट्रिय सार्वभौमसत्ता खतरामा पारेको आरोप गुरुङको छ । उनले राजनीतिक रुपमा पराजित भएपछि चार दलले सेना परिचालन गरेको आरोप लगाए ।
निर्वाचन रोके सहमति
उक्त अवसरमा गुरुङले सरकार र चार दलले निर्वाचन स्थगन गरे आफूहरु वार्तामार्फत मुलुकमा विद्यमान सबै समस्याको समाधान गर्न राजी रहेको उल्लेख गरे । विदेशीको योजनामा यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई सिक्किमीकरण गर्ने र संविधान पनि नबन्ने उनले दोहोर्‍याए । चार दलका मुख्य नेताले जनताको अधिकार विदेशीको फोल्टामा हालिदिएको र विदेशीकै योजनामा खिलराज रेग्मी नेतृत्वमा सरकार बनेको आरोप गुरुङले लगाए । गुरुङ र भुसालसँगै नेवा: राज्य समिति इन्चार्ज हितमान शाक्य पनि कार्यक्रममा सहभागी थिए ।
कार्यक्रममा सिपी मैनाली नेतृत्वको माले समर्थित अखिल पाचौंका हमाचिव सन्तोष कोइराला र कोषाध्ययक्ष दिनेश रेग्मीसहितका नेता–कार्यकर्ता नेकपा–माओवादीनिकट अखिल क्रान्तिकारीमा प्रवेश गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us