
काठमाण्डु १२ कात्तिक– आगामी संविधानसभाको निर्वाचनका लागि प्रत्यक्ष निर्वाचनमा पहिलो निर्वाचित हुने निर्वाचन अर्थात् प्रत्यक्षका लागि हल्का नीलो र समानुपातिक निर्वाचनका लागि हल्का रातो रङ गरी दुई रङको मतपत्रको व्यवस्था गरिएको छ ।
पहिलो निर्वाचित हुने निर्वाचनका लागि २४० प्रकारका र समानुपातिक निर्वाचनका लागि एकै किसिमको मतपत्रको आगामी निर्वाचनमा हुने निर्वाचन आयोगले जनाएको छ । पहिलो हुने निर्वाचनका लागि दल तथा स्वतन्त्र गरी ६ हजार १२८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
निर्वाचन आयोगले २४० निर्वाचन क्षेत्रमध्ये अब २५ निर्वाचन क्षेत्रको मात्र मतपत्र छाप्न बाँकी रहेको जनाउँदै निर्वाचन आयोगले बुधबारसम्ममा सबै निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सकिने पनि जनाएको छ । आयोगका अनुसार समानुपातिक निर्वाचनको मतपत्र छाप्ने काम यसअघि नै समाप्त भइसकेको छ ।
पहिलो निर्वाचित हुने निर्वाचनका लागि एक करोड ४९ लाख ५२ हजार र सोही सङ्ख्यामा समानुपातिक निर्वाचनका लागि पनि मतपत्र आवश्यक हुने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रतीले यसपटक २२ प्रतिशत बढी मतपत्र छपाइ भएको जानकारी दिए । उनले भने, ‘विभिन्न कारणले २२ प्रतिशत बढी मतपत्र छापेका हौँ ।’