
काठमाण्डु, १२ कात्तिक– नेकपा (एमाले)का नेताहरुले आगामी मङ्सिर ४ गते हुने दोस्रो संविधानसभाको निर्वाचनमा एमालेले बहुमत ल्याएर अग्रगामी संविधान निर्माण गर्ने ठोकुवा गरेका छन् । मुलुकमा लोकतान्त्रिक संविधान निर्माण गरी त्यसलाई जारी गर्न निर्वाचनमा जनतासमक्ष आफ्नो पार्टीलाई बहुमत दिन एमाले नेताहरुले आग्रह गरेका हुन् ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विगतमा एमाले पहिलो शक्तिका रुपमा स्थापित हुन नसकेका कारण संविधान लेखन कार्य अधुरो रहेको जिकिर गरे । उनले यसपटकको चुनावले मुलुकलाई शान्ति तथा समृद्धिको मार्ग पहिल्याउने हुँदा मताधिकारलाई सहि ढङ्गले प्रयोग गर्न सुझाव दिँदै आफ्नो पार्टीलाई भोट दिन भनेका हुन् ।
उनले सामाजिक न्याय, समानता, आर्थिक रुपान्तरणलगायत विषयमा एमालेको प्रष्ट नीति तथा दृष्टिकोण रहेको उल्लेख गर्दै परिवर्तनको अनुभव जनतासम्म पुर्याउन अहिले आफ्नो पार्टीको नेतृत्व खाँचो रहेको बताए ।
राष्ट्र निर्माणका एजेण्डा प्रमुखः पोखरेल
त्यस्तै एमाले महासचिव तथा काठमाण्डु क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले आफ्नो पार्टीले विगतका जनपक्षीय कार्यलाई निरन्तरता दिँदै राष्ट्र निर्माणका एजेन्डालाई प्राथमिकतामा राखेको ओंल्याए ।
विष्णु गाविस (चपली) मा आयोजित एमाले पार्टी प्रवेश कार्यक्रममा नेपालमा प्रगतिशील, लोकतान्त्रिक, जनपक्षीय तथा अग्रगामी संविधान निर्माण गर्ने हो भने नेकपा (एमाले) लाई अत्याधिक बहुमतसहित विजयी गराउनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
नेकपा (एमाले) का समानुपतिकका तर्फका उम्मेदवार बालकृष्ण श्रेष्ठले यस क्षेत्रमा एमालेले २० दिन अघिदेखि घरदैलो कार्यक्रमको थालनी गरेको जानकारी दिँदै यहाँ करिब ६० हजार मतदाता रहेको बताए ।
सो कार्यक्रममा नेपाली काँग्रेसका क्रियाशील सदस्य प्रकाश श्रेष्ठ, मधुसुदन श्रेष्ठ, रवि श्रेष्ठ, सुजनवेद नकर्मी, सङ्गम नकर्मीलगायत ८० जना तथा अन्य पार्टीका गरी कुल १३० कार्यकर्तालाई महासचिव पोखरेलले अबिर, माला तथा खादा लगाई पार्टी प्रवेश गराए ।