हड्तालको अन्तिम दिन पनि बंगलादेशमा अश्रुग्यास र गोली

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते ९:३२ मा प्रकाशित

ढाका, १२ कात्तिक– बङ्गलादेशमा प्रतिपक्षी दलले सुरु गरेको आम हडतालको अन्तिम दिन मंगलबार पनि हिंसा जारी रहेको छ । देशको विभिन्न भागमा विपक्षी दलका कार्यकर्ताहरू र प्रहरीबीच झडप भएको जनाइएको छ ।

झडपका क्रममा प्रहरीले अश्रुग्यास र रबरकागोली प्रहार गरेका बताइएको छ । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक वरिष्ठ अधिकारी घाइते भएको जनाइएको छ । बङ्गलादेशको प्रमुख प्रतिपक्षी दल बङगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुपर्ने र निर्वाचनका लागि काम चलाउ सरकार गठन गर्नुपर्ने माग गदै गत शुक्रबारदेखि सुरु भएको राजनितिक विवादका कारण हालसम्म १६ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले जनाएको छ ।

सो क्रममा बीएनपीले तीन दिने आम हडतालको घोषणा गरेको थियो । हड्तालको सोमबार अन्तिम दिन भएको बताइएको छ । बङ्गलादेशमा गत जनवरीदेखि हालसम्म विभिन्न विरोध प्रदर्शनमा भएका हत्या र हिंसामा एकसय ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको समाचारमा उल्लेख छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us