
कञ्चनपुर, १२ कात्तिक– अखण्ड सुदूरपश्चिम पार्टी कञ्चनपुरका उम्मेदवारको पसलमा आगजनीको प्रयास भएको छ । आउँदो संविधानसभाको निर्वाचनका उम्मेदवारमाथि हातपात र चुनावी प्रचारमा प्रयोग भएका गाडीमा तोडफोड गर्ने क्रम बढिरहेको बेला आक्रमणकर्ताहरुले उम्मेदवारका पसल पनि नछाडेका हुन् ।
दोस्रो संविधानसभा निर्वाचनका लागि अखण्ड सुदूरपश्चिम पार्टीका तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ कञ्चनपुरका प्रत्यक्षका उम्मेदवार श्याम भट्टको पसलमा आगजनीको प्रयास भएको प्रहरीले जनाएको छ । पसलको बाहिरतिर झुन्डाएको आइएमइको र पसलको साइनबोर्डमा भने आगजनी गर्न भ्याएका छन् ।
महेन्द्रनगर गल्ली नं ५ स्थित उम्मेदवार भट्टको प्रभात फोटोकपी एन्ड मोबाइल ग्यालरीमा गएराति ११ बजे आगो लगाउने प्रयास भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीर्खबहादुर रावलले जानकारी दिए । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।