माओवादीले काँग्रेससँग प्रतिस्पर्धा गर्न सक्दैनः कोइराला

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते ८:४७ मा प्रकाशित

sushilचितवन, १२ कात्तिक- नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एमाओवादीले काँग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन् । लोकतान्त्रिक संविधान निर्माणका लागि काँग्रेसको जित आवश्यक रहेको बताउँदै कोइरालाले सो दाबी गरेका हुन् ।

कम्युनिष्टसँग जनता निरास भइसकेको जिकिर गर्दै कोइरालाले एमाओवादीले काँग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । भरतपुर नगरपलिका वडा नं १३ आनन्दपुर चोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा सभापति कोइरालाले काँग्रेसले दुई तिहाई बहुमत ल्याएर एक वर्षभित्र संविधान जारी गर्ने दाबी गरे ।

अहिले मतदातामा कसैको डर त्रास नरहेकाले काँग्रेसको जित सुनिश्चित रहेको बताउँदै उनले भने, ‘पहिलो संविधानसभाको चुनावमा माओवादीले डर, धम्की र लोभ देखाएर चुनाव जितेको थियो, अहिले त्यस्तो छैन । यसपटक चुनाव नेपाली काँग्रेसले जित्छ ।’ चितवनको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै सभापति कोइरालाले सबैलाई काँग्रेसलाई भोट दिन आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us