
चौतारा १२ कात्तिक–एकीकृत माओवादीका प्रवक्ता तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का उम्मेदवार अग्नि सापकोटा चुनावी अभियानका क्रममा सिन्धुपाल्चोकका सबैभन्दा विकट क्षेत्रहरुमा पुगेका छन् । जिल्लाका सबैभन्दाउत्तरी गाविसहरु गुम्बा, गोल्चे र पाङताङ लगायतका गाविसमा उनले सोमबारदेखि भेटघाट गरिरहेका छन् ।
गोल्चे गाविसमा सबै वडाका प्रतिनिधिहरुको उपस्थितिमा सोमबार उनले वृहत अन्तरक्रिया गरेका छन । त्यस क्रममा उक्त क्षेत्रको विकास निर्माणका वारेमा छलफल भएको २ नम्बर निर्वाचन क्षेत्रका संयोजक रविले जानकारी दिए । गुम्बाको गुनीगाउँदेखि पाङ्रपुसम्म घरदैलो अभियान चलेको थियो । अभियानको क्रममा ठाउँ ठाउँमा स्थानीय जनताले सापकोटालाई स्वागत गरेका थिए ।
घरदैलो तथा अन्तरक्रियामा सापकोटाले आगामी दिनमा यस क्षेत्रको विकासको लागि पहल गर्न पार्टीले कुनै कसुर बाँकी नराख्ने आश्वासन दिएका छन । प्राकृतिक रुपमा सिन्धुपाल्चोक जिल्ला निकै धनी भएपनि यसको सही उपयोग गर्न नसकेकाले विकासमा पछि परेको उल्लेख गर्दै सापकोटाले भने,“चुनावपछि हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्यो भने यस क्षेत्रको विकासको लागि आर्थिक प्याकेज ल्याइनेछ ।”
यसअघि आफ्नो निर्वाचन क्षेत्रको दक्षिण भेगको चुनावी कार्यक्रम सकेका सापकोटाले उत्तरी क्षेत्रको अभियान कार्तिक ११ गते बराम्चीगाविसको चनौटेबाट घरदैलो शुरु गरेका थिए ।