उम्मेदवार आफैले भने, ‘आचारसंहिता पालना भएन’

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते ६:२५ मा प्रकाशित

नुवाकोट, १२ कात्तिक–उम्मेदवारहरुले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गराउन माग गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार क्षेत्र नं.१ र क्षेत्र नं.३ का उम्मेदवारसँग निर्वाचन आचारसंहितासम्बन्धी गरेको अन्तक्र्रियामा सहभागी उम्मेदवारले आचारसंहिता उल्लङ्घन भएको बताएका हुन् ।

यो दल र ऊ दलका उम्मेदवार भनी नाम किटान नगरिए पनि केही उम्मेदवारले आफूलाई प्रमुख पार्टी भन्नेहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहेको बताएका थिए । रङ्गीन फ्लेक्स टाँसेको, सवारीसाधन बढी प्रयोग गरेको, जिल्ला बाहिरका युवा ल्याएर मोटरसाइकल ¥यालीका नाममा आतङ्क फैलाएको जस्ता गुनासा एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेसबाहेक अरु दलका उम्मेदवारले राखेका थिए । एमालेबाट नुवाकोट–३ का उम्मेदवार तथा पार्टी जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाले आचारसंहिता उल्लङ्घन भइरहेको बताउँदै विधिको शासन बनाउन संविधानसभामा जाने प्रतिनिधिले अहिलेदेखि विधि मिचेर जान हुँदैन भने ।

राप्रपा नेपालका क्षेत्र नं. ३ का उम्मेदवार विष्णुप्रसाद सापकोटाले ठूला दलले आचारसंहिता मिच्दा पनि निर्वाचन अधिकृतको कार्यालय मौन बस्ने हो भने आफ्नो दलले पनि त्यसै गर्ने धम्की दिए । उनले तत्काल आचारसंहिता विपरीतका कार्य रोक्न पनि माग गरे । काँग्रेस र एमाओवादीका उम्मेदवारका प्रतिनिधिले पनि आ–आफ्ना पक्षका उम्मेदवारले आचारसंहिता पालना गरिरहेको र गल्ती भएको ठाउँमा सच्याउन तयार रहेको बताएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले जिल्लामा सुरक्षा अवस्था मजबुत बनाउन सुरक्षा निकाय प्रहरी र सेना दुवै सक्रिय भएको बताउँदै उम्मेदवारले आचारसंहिता पालना नगरे सुरक्षा निकायले हस्तक्षेपसमेत चेतावनी दिए ।

प्रमुख निर्वाचन अधिकृत तथा क्षेत्र नं. ३ का निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले आचारसंहिता सबैका लागि बराबर रुपमा लाग्ने बताउँदै नेपालको दीर्घकालीन विकासका लागि संविधान बनाउने निर्वाचनमा सहभागी जति पनि उम्मेदवार छन् उनीहरुले आचारसंहिता पालना गर्ने विश्वास व्यक्त गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us