मत बदर अत्यन्तै कम हुने आयोगको जिकीर

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते ६:०२ मा प्रकाशित

Dolakh-Bahadur-Gurungअर्घाखाँची, १२ कात्तिक–निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले निर्वाचन हुनेमा कुनै शङ्का र द्विविधा नभएकाले निर्वाचन सम्पन्न हुनेमा ढुक्क हुन मतदातालाइ आग्रह गरेका छन् । निर्वाचनका बारेमा अनुगमन गर्न अर्घाखाँची आएका गुरुङले मंगलबार बिहान सदरमुकाम सन्धिखर्कमा आयोजित साक्षात्कारमा निर्वाचनको सबै तयारी पूरा भएको र अब बिट मार्न मात्रै बाँकी रहेको धारणा राखे । उनले निर्वाचन हुँदैन र स्थगन हुन्छ भन्नेमा विश्वास नगर्न अपिलसमेत गरे ।

लोकतन्त्रमा निर्वाचन बहिष्कार गर्ने अधिकार भएको तर कसैलाई पनि मत हाल्न नदिने र निर्वाचन बिथोल्ने अधिकार नभएकाले निर्वाचन बिथोल्ने, गाडी जलाउने तथा तोडफोड गर्ने अराजक तत्वलाई अपराध ऐनअनुसार कारबाही हुने चेतावनी दिए । उम्मेदवार, मतदाता र मतदानस्थलको सुरक्षाका लागि सबै सुरक्षाका निकाय निर्वाचनकेन्द्रित भएर लागेकाले सुरक्षाको राम्रो प्रत्याभूति भएको बताउँदै उनले विगतका निर्वाचनभन्दा अहिलेको निर्वाचन विश्वकै नमुना हुने जिकीर गरे ।

विगतको निर्वाचनमा देसभर नौं प्रतिशत मतपत्र बदर भएको विषयलाई ध्यानमा राखी यसपालिको निर्वाचनमा त्यो प्रतिशतलाई घटाउन आयोग लागिपरेको भन्दै उनले अहिलेको निर्वाचनमा देशभरमा करिब पाँच लाख व्यक्तिलाई मतदाता शिक्षासम्बन्धी तालिम प्रदान गरी गाउँगाउँ र प्रत्येक मतदान केन्द्रसम्म पठाइएकाले पनि मतपत्र बदर सङ्ख्या अत्यन्तै न्यून हुने विश्वास व्यक्त गरे ।

आयोगले समानुपातिकतर्फको मतपत्र छाप्ने काम पूरा गरिसकेको र प्रत्यक्षतर्फको मतपत्र छपाइ पनि अन्तिम चरणमा पुगेको जानकारी पनि दिए । मतदाता परिचयपत्र छपाइ १० दिनमा सिध्याई प्रत्येक मतदाताको हातहातमा पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जिल्लामा समान्य रुपमा आचारसंहिताको उल्लघन गरिएका घटनाको उजुरी परेका र त्यसको बारेमा सम्बन्धित निकायलाई सचेत गराइसकिएको जानकारी दिनुभयो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us