
काठमाण्डु, १२ कात्तिक–नेकपा–माओवादीले आगामी चुनाव स्थगित गरी परिणाममुखी राजनीतिक निकासका लागि पहल गर्न सरकार र मुख्य चार राजनीतिक दललाई आग्रह गरेको छ । अहिलेको निर्वाचनले जनताको संविधान नबन्ने, शान्ति प्रक्रियालाई पूरा गर्न नसक्ने र उल्टो अर्को द्वन्द्व समेत निम्त्याउने माओवादीको ठहर छ ।
माओवादी अध्यक्ष मोहन वैद्यले मंगलबार विज्ञप्ति निकालेर सरकारसँगको वार्ताकालागि पहल गरिदिन सबै राजनीतिक दल, नागरिक समाज र बौद्धिक व्यक्तित्वहरुलाई अपील समेत गरेका छन् । जनयुद्धको हिस्सा माओवादी र माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई बाहिर राखेर गरिएको निर्वाचनको औचित्य नभएकोले सर्वपक्षीय गोलमेच सभामार्फत् राजनीतिक निकास निकाल्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।
‘राष्ट्रिय सहमति विना हुन गइरहेको संविधान सभाको दोस्रो निर्वाचनलाई स्थगन गरी ३३ राजनीतिक दलहरुको मोर्चाद्वारा प्रस्तुत सर्वपक्षीय गोलमेच सभा लगायतको प्रस्तावलाई गम्भीरतापूर्वक लिई वार्तामार्फत् परिणाममुखी राजनीतिक निकासका लागि आवश्यक पहल गर्न चार राजनीतिक दल तथा सरकारसँग फेरि पनि विशेष अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । Press statement 2070-7-12