हस्तकला प्रवर्द्धनमा थारु युवा सकृय

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते ३:०७ मा प्रकाशित

कञ्चनपुर, १२ कात्तिक–परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले थारु समुदायका युवा हस्तकला सामग्रीको प्रवर्द्धनमा लागेका छन् । सुडा गाविस–१ लालपुरमा थारु हस्तकला सामग्रीले राम्रो बजार पाएको छ ।

लघु व्यवसाय विकास कोषको सहयोगमा २२ वर्षीया गीता डगौरा थारु हस्तकला सामग्रीको प्रवर्द्धनमा लागेकी छिन् । लघु व्यवसाय विकास कोष र उद्योग वाणिज्य सङ्घको पहलमा २०६९ सालमा तीनमहिने तालिम लिएकी गीता अहिले हस्तकला सामग्री निर्माण तथा बिक्रीमा लागेकी छन् । पाँच हजार रुपैयाँबाट सुरु गरेकी गीताले अहिले आफ्नो व्यवसायमा ५० हजार रुपैयाँभन्दा बढीको लगानी गरेकी छन् ।

थारु हस्तकला सामग्री नेपालको काठमाण्डु तथा पूर्वका विभिन्न स्थान र भारतका बजारमा समेत जाने गरेको गीता बताउँछिन् । हस्तकलाका सामग्री बिक्री गर्न थालेको दुई महिना जति भएको ४० हजार जतिको हस्तकला सामग्री बिक्री भएको उनले जानकारी दिइन् । गीता आफू पसलमा बस्ने तथा हस्तकलाका सामग्रीको बजार प्रवर्द्धनका लागि आफै जाने गर्छिन् ।

गीताका पसलमा अहिले छ थारु युवा हस्तकलाका सामग्री बनाउन आउने गर्छन् । यसरी हस्तकला सामग्री बनाउनेहरुलाई आफूले निःशुल्क तालिम दिने गरेको गीताकी आमा शोभाले बताइन् । हस्तकला सामग्री बनाउनेहरुमा एसएलसी अनुत्तीर्ण र अपाङ्गता भएका महिला आउने गर्छन् । सीप सिकेर रोजगारी तथा संस्कृति परम्परा बचाउनका लागि आफू थारु हस्तकला सामग्रीको प्रवर्द्धनमा लागेको गीताको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us