दलहरुको चुनाव प्रचार जारी, प्रचण्ड कीर्तिपुर र बानेश्वरको कार्यक्रममा सहभागी

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते ३:०३ मा प्रकाशित

prachanda 1काठमाण्डु, १२ कात्तिक– मतदान गर्ने दिन आउन २१ दिन मात्र बाँकी रहँदा बिभिन्न राजनीतिक दलका नेताहरु चुनाव प्रचार प्रसार व्यस्त छन् । परिणाम आफ्नो पक्षमा पार्न एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, मधेसवादी लगायत दल र स्वतन्त्र उम्मेदवारहरु कार्यकर्ता भेटघाट तथा जनसभामा व्यस्त भएका हुन् ।

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाण्डु क्षेत्रनम्बर १० को घरदैलो कार्यक्रममा सहभागी भएका छन् । उनी सोही क्षेत्रका प्रत्यक्षतर्फको उम्मेदवार पनि हुन् ।

घरदैलो कार्यक्रम कीर्तिपुरको पाँगाबाट शुरु भएको थियो । घरदैलो कार्यक्रमकालागि उनी झण्डै डेढ घण्टा पैदल हिँडेका थिए । कार्यक्रममा एमाओवादीका नेता–कार्यकर्ताको लामै लस्कर थियो । ठाउँ ठाउँमा हुने समर्थक र कार्यकर्ताको भीडभाडले सुरक्षाकर्मीलाई सुरक्षा दिन हम्मे हम्मे परेको थियो । प्रचण्डलाई स्थानीयले माला, टीका र खादा ओढाएर सम्मान गरेका थिए ।

कीर्तिपुरको घरदैलो कार्यक्रम सकेर उनले काठमाण्डु क्षेत्रनम्बर १ अन्तर्गत नयाँबानेश्वरको चुनावी सभालाई सम्वोधन गरेका थिए । काठमाण्डु क्षेत्रनम्बर १ मा उनकी छोरी रेणु दाहाल उम्मेदवार छिन् । सिरहा क्षेत्रनम्बर ५ का उम्मेदवार समेत रहेका प्रचण्ड पूर्वका बिभिन्न जिल्लाका कार्यक्रममा सहभागी भएर काठमाण्डु आइपुगेका छन् ।

यसैगरी नेपाली कांग्रेसका सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल भने काठमाण्डु उपत्यका बाहिरका आफ्ना निर्वाचन क्षेत्रमा प्रचार प्रसारमा व्यस्त भएका छन् । देउवाले मंगलबार डडेलधुराको जोगबुढाको सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी नेकपा एमाले अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधव कुमार नेपाल, केपी ओली लगायत नेताहरु पनि आ–आफ्नो चुनावी क्षेत्रमा व्यस्त छन् । उनीहरुले पनि घरदैलोमा पुगेर मतदातासँग भेटघाट गर्ने र बिभिन्न स्थानमा आयोजना गरिएको सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us