प्रधानसेनापतिलाई पनि लाग्यो चुनाव !

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते २:४७ मा प्रकाशित

Gaurab-Samserकाठमाण्डु, १२ कात्तिक– यतिबेला सबैलाई चुनाव लागेको छ । राजनीतिक दल, सर्वसाधारण, कर्मचारी, सुरक्षा निकाय सबैलाई चुनावको रन्कोले छोएको छ । पूरै देश निर्वाचनमय भएकोबेला प्रधानसेनापति गौरव शमसेर राणालाई पनि चुनावले छोएको छ । उनी यतिबेला जिल्ला दौडाहामा छन् । तर, उनी चुनाव प्रचार गर्न वा भोट माग्न हिँडेका भने होइनन् । उनलाई त सुरक्षा प्रवन्ध मिलाउने चटारोले छोएको छ । निर्वाचन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएपछि राणा हाल देशभरको बस्तुस्थिति बुझ्न जिल्ला दौडाहामा व्यस्त छन् ।

प्रधानसेनापति राणा यतिबेला पूर्वान्चल भ्रमणमा व्यस्त छन् । सोमबार साँझ सुनसरीको इटहरीस्थित सेनाको पूर्वी पृतना मुख्यालय पुगेका राणाले पाँचथर, सप्तरी, उदयपुरलगायत जिल्लाको सुरक्षा प्रवन्धबारे जानकारी लिनेछन् । उनले चारवटै सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्यवस्थाबारे छलफल गर्ने कार्यक्रम छ ।

उनले सोमबार पर्सा, रौतहट, सर्लाही र धनुषा जिल्लास्थित विभिन्न सुरक्षा बेशहरुको निरिक्षण भ्रमण गरेका थिए । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति राणाले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारबाट प्राप्त कार्यादेश पूरा गर्न खटिएका फौजहरुसंग भेटघाट एवं चुनावलाई सहज वातावरणमा सम्पन्न गर्न स्थानिय प्रशासन, निर्वाचन कार्यालय एवं अन्य सुरक्षा निकायहरुसंग भए गरेका समन्वय तथा सहयोगका कार्यहरुबारे जानकारी लिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेना, स्थानिय प्रशासन, अन्य सुरक्षा निकाय एवं निर्वाचन कार्यालय वीच हुने समन्वयले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । – तस्विर सौजन्य : नेपाली सेना

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us