तीन महिनामा आठ हजार पर्यटक

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते १:४७ मा प्रकाशित

गोरखा, १२ कात्तिक–चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा आठ हजार १३८ जनाले गोरखा सङ्ग्रहालय अवलोकन गरेका छन् । साउनमा तीन हजार २३०, भदौमा दुई हजार ५१५ र असोजमा दुई हजार ३८३ जनाले सङ्ग्रहालयको अवलोकन गरेका हुन् ।

अवलोेकन गर्नेहरुमा तीन हजार ९०५ विद्यार्थी, चार हजार ५१ नेपाली, सार्क राष्ट्रका आठ र अन्य देशका १६४ पर्यटकले सङ्ग्रहालय अवलोकन गरेका सङ्ग्रहालय प्रमुख करुणा राईले जानकारी दिइन् ।

सङ्ग्रहालय घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट  मात्रै तीन महिनाको अवधिमा करिब ६० हजार रुपैयाँ राजस्व सङ्कलन भएको सङ्ग्रहालयले जनाएको छ । विद्यार्थी, नेपाली, सार्क र अन्य राष्ट्रका पर्यटकसँग सङ्ग्रहालयले प्रवेश टिकटमा फरक–फरक शुल्क लिने गरिन्छ । हिउँदयामसँगै शैक्षिक भ्रमणको याम सुरु भएकाले अब शैक्षिक भ्रमण आउनेको सङ्ख्या अझै बढ्ने सङ्ग्रहालयले जनाएको छ ।

संग्रहालयमा राखीएको शाहवशींय इतिहास झल्कने सामाग्री, पुराना हात हतियार, भाडाकुडा लगायत जिल्लाका साँस्कृतिक परिचय झल्कने सामाग्री पर्यटकको आकर्षणको केन्द्र रहेका छन् । संग्रहालय ग्यालरीमा यो वर्ष २५ वटा तस्वीर थप गरिएको छ । शैक्षिक भ्रमणमा आउने बसहरु दैनिक दर्जनको संख्यामा हुने गरेको छ ।

यसैवीच गोरखाबाट शैक्षिक भ्रमण जानका लागि २५ विद्यालयले अनुमति लिएको जिल्ला शिक्षा कार्यालय गोरखाले जानकारी दिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us