
काठमाण्डु -संविधानसभा निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले जनताको घर दैलोमा पुगेर आ–आफ्नो एजेन्डा प्रस्तुत गर्ने कामलाई तीव्रता दिएका छन् ।
निर्वाचनको मिति नजिकिँदै जाँदा मत माग्न घर घरमा पुगेका उम्मेदवारहरुको व्यस्तता सँगसँगै मतदाताको व्यस्तता पनि बढेको छ ।
फरक–फरक राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुको बढ्दो चहलपहलका कारण मतदाताहरु पनि कुन दलका एजेन्डा ठीक र कुन दलका एजेन्डा बेठीक भन्ने पत्ता लगाउन सक्ने स्थितिमा पुगेको घरदैलोमा पुगेका उम्मेदवारहरुको भनाइ रहेको छ ।
काठमाण्डु निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सोमबार बानेश्वर, बबरमहललगायतका क्षेत्रमा घरदैलो गर्दै लोकतान्त्रिक संविधान लेखनका लागि आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरेका छन ।
सोही क्षेत्रका एमाओवादीका उम्मेदवार रेणु दाहालले थापाथली, त्रिपुरेश्वर, बबरमहल, बानेश्वर, बिजुलीबजार, डिल्लीबजारमा घरदैलो,युवा तथा स्थानीय मतदाताहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको निर्वाचन परिचालन समितिका संयोजक चन्द्रबहादुर थापाले जानकारी दिए ।
त्यस्तै क्षेत्र नं २ का नेकपा (एमाले)का उम्मेदवार माधव नेपालले सोमबार कोटेश्वर लगायतका क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन । स्थानीय दलित बस्तीमा पुगेका नेता नेपालले जनपक्षीय संविधान निर्माण गर्न आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरेका थिए ।
त्यस्तै सोही क्षेत्रका एमाओवादीका उम्मेदवार लीलामणि पोखरेलले सोमबार गोठाटारमा घरदैलो अभियान सञ्चालन गर्दै परिवर्तनको एजेन्डा संस्थागत गर्न एमाओवादीलाई मतदान गर्न आग्रह गरेका थिए ।
क्षेत्र नम्बर ३ मा एमाओवादीका उम्मेदवार गणेश रेग्मीले सोमबार बौद्ध पिपलबोटलगायतको क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरे भने एमालेका उम्मेदवार रामेश्वर फुयाँलले टुसाल क्षेत्रमा र काँग्रेसका चक्रबहादुर ठकुरीले बौद्धमा नै सो अभियान सञ्चालन गरेका थिए ।
क्षेत्र नम्बर ४ मा काँग्रेसका उम्मेदवार गगन थापाले सोमबार कुमारीगाल, गौरीघाट क्षेत्र, एमाओवादीका नन्दबहादुर पुनले महाँकाल क्षेत्रमा भोट माग्दै जनजीविकाको एजेन्डा बोक्ने आफ्नो दललाई मतदान गर्न आग्रह गरेका थिए । सोही क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार निर्मल कुईंकेल पनि मित्रपार्क, मैजुबहाल, गौरीघाटका क्षेत्रमा घरदैलो कार्यक्रम अन्तर्गत मतदाताहरुसँग भोट माग्न व्यस्त थिए ।
निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार तथा एमालेका महासचिव ईश्वर पोखरेल दिनभर घरदैलो कार्यक्रम र मतदाता भेटघाटमा व्यस्त रहे । उनले सुकेधारा र लाजिम्पाट क्षेत्रमा घरदैलो कार्यक्रमअन्तर्गत मतदाता भेटघाटमा आफूले निर्वाचन जिते पनि हारे पनि त्यो क्षेत्रको सडक, खानेपानीलगायतका विकासका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सोही क्षेत्रमा एमाओवादीका उम्मेदवार महेन्द्र श्रेष्ठले धापासीमा घरदैलो अभियान सञ्चालन गरेका थिए भने काँग्रेसका उम्मेदवार महाराजगन्जमा घरदैलो अभियान सञ्चालन गरेका थिए ।
क्षेत्र नम्बर ६ मा एमाओवादीका उम्मेदवार हिमाल शर्माले मनमैजु गाविसमा जनताको घरदैलोमा पुगेर मत मागेका थिए भने एमालेका उम्मेदवार योगेश भट्टराई गोगबुमा, काँग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले धर्मस्थलीमा घरदैलो अभियान सञ्चालन गर्दै आ–आफ्नो दललाई मतदान गर्न आग्रह गरेका थिए । यस्तै सोही क्षेत्रका सङ्घीय समाजवादी पार्टीका उम्मेदवार केशव स्थापितले सामाखुसी क्षेत्रमा मत मागेका थिए ।
क्षेत्र नम्बर ७ मा एमाओवादीका उम्मेदवार हिसिला यमीले बोहोराटार, बालाजु बाइपास क्षेत्रमा आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै घरदैलो अभियान सञ्चालन गरेको सो क्षेत्रका निर्वाचन परिचालन समितिका संयोजक ईश्वर रिजालले जानकारी दिए । एमालेका उम्मेदवार रामवीर मानन्धरले गोलढुङ्गा गाविस र काँग्रसकी प्रमिलादेवी सिंहले नयाँ बजार क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेकी थिइन । यस्तै काठमाडौँको क्षेत्र नं ८, ९ र १० मा पनि घरदैलो अभियान जारी रहेको बताइएको छ । रासस