खाद्य सुरक्षा र पोषणका लागि विश्व खाद्य दिवस मनाइने

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ९:५० मा प्रकाशित

FAO world food dayकाठमाण्डु, ११ कात्तिक– ‘खाद्य सुरक्षा र पोषणको आधार खाद्य प्रणालीमा दिगो सुधार’ भन्ने नाराका साथ नेपालमा पनि ३३ औँ विश्व खाद्य दिवस मनाइने भएको छ । विश्व खाद्य तथा कृषि सङ्गठनले आगामी बुधबार अक्टोबर ३० तारिकका दिन मनाउन लागेको सो दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइन लागिएको हो ।

खाद्य उत्पादनदेखि वितरण, प्रशोधन, उपभोगका चरणहरूमा दिगो पद्धतिको अबलम्बन गर्न उक्त नाराले सन्देश दिएको छ । कृषिमा व्यवसायीकरणको क्रममा अत्यधिक रासायनिक मल तथा विषादीको प्रयोगले गुणस्तरीय उत्पादनमा आएको ह्रास र मानवीय स्वास्थ्यमा परेको असर चुनौतीपूर्ण रहेको बेला यस वर्षको नारा सान्दर्भिक रहेको नेपालस्थित विश्व खाद्य दिवस समितिले जनाएको छ ।

सो समितिले आज ललितपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा विश्वको खाद्य उत्पादनले सबै मानिसलाई खान पुग्ने अवस्था रहेपनि अझैपनि ८५ करोड मानिसले पर्याप्त खान पाइरहेका छैनन् भने नेपालमा उत्पादित खाद्य पदार्थले सबै नागरिकलाई खान पुग्ने भए पनि गरिबी र न्यून आयका कारण ६४ लाख नागरिकले अझै पर्याप्त खान नपाएको जानकारी दिइयो ।

समितिका सदस्यसचिव हरिबाबु तिवारीले खाद्य सुरक्षाका लागि उत्पादनमा वृद्धि, आयआर्जन, प्रशोधन, बजारीकरण, जलबायु परिवर्तनमा अनुकुल बालीको विकास, प्राङ्गारिक खेतीको प्रवद्र्धनजस्ता कार्यक्रममा जोड दिइएको उहाँले जानकारी दिए ।

बीस वर्ष अघि ५७ लाख ६४ हजार मेट्रिक टन खाद्यान्न उत्पादन भएकामा विभिन्न उपायको अवलम्बनबाट वार्षिक तीन दशमलब पाँच प्रतिशतका दरले उत्पादन बढ्दै आएको र गत आर्थिक वर्षमा ९० लाख ९८ हजार मेट्रिक टन खाद्यान्न उत्पादन भएको पनि सो अवसरमा बताइएको थियो । यस अवसरमा गत असोज १७ गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गरिएको र आगामी बुधबार कृषि क्षेत्रका विविध विषयमा प्रथम, द्वितीय र तृतीय हुने १०७ कृषक, ब्यापारी र संघ संस्थालाई पुरस्कृत गरिने भएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us