वैद्य माओवादी भूमिगत भए पनि माखो मर्दैनः प्रचण्ड

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते १२:४४ मा प्रकाशित

prachanda_communist_fistसोलुखुम्बु, ११ कात्तिक– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैद्य माओवादी भूमिगत भए पनि माखो मार्न नसक्ने दावी गरेका छन् । संविधान सभा निर्वाचनमा नआएकै कारण अन्ततः वैद्य माओवादी आफै पछुताउने ठोकुवा गर्दै उनले सो बताएका हुन् ।

सिंगो नेपाल संविधानसभा निर्वाचनको पक्षमा एक भएर उभिएको अवस्थामा पूर्व राजा ज्ञानेन्द्र र वैद्य माओवादी मात्रै निर्वाचनको विरोधमा लागेको भन्दै प्रचण्डले भने, ‘वैद्य जीहरु र ज्ञानेन्द्रले नचाहँदैमा संविधान सभा चुनाव रोकिँदैन । उनीहरुले चाँडै नै गल्तीको महशुस गर्छन् ।’

सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा आयोजित साक्षात्कार कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले संघियता पक्षधर सबै राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल हुने भन्दै परिर्वतनका पक्षधरले नै दुईतिहाइ ल्याउने दावी गरे । उनले निर्वाचनमा आफ्नो पार्टीले बुहमत ल्याउने र आफूनै पहिलो निर्वाचित कार्यकारी राष्ट्रपति बन्ने समेत बताए ।

काँग्रेस–एमालेका कारण संविधानसभा विघटन 

ओखलढुङ्गा– त्यस्तै सोमबार नै ओखलढुंगामा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अघिल्लो संविधानसभाबाट ८० प्रतिशत संविधान निर्माणको काम सकिए पनि यथास्थितिवादी काँग्रेस–एमालेको परिवर्तनविरोधी चरित्रका कारण संविधानसभा विघटन भएको बताए ।

आफू सहभागी हुने कार्यक्रममा अवरोध गर्न यातायात बन्द गर्दैआएका नेकपा–माओवादीप्रति आक्रामक देखिएका नेता दाहालले वैद्य–ज्ञानेन्द्र गठबन्धन निर्वाचन भाड्ने षड्यन्त्रमा लागेको आरोपसमेत लगाए । प्रचण्डले भने, ‘ज्ञानेन्द्र र वैद्य एकै ठाउँमा उभिएर संविधानसभाको विरोध गर्नु विडम्बनापूर्ण हो ।’

ताप्लेजुङको चुनावीसभा सकेर ओखलढुङ्गा आएका प्रचण्ड ओखलढुङ्गामा एक घण्टा चुनावी कार्यक्रममा सहभागी भएर सोलुखुम्बु प्रस्थान गरेका थिए । एमाओवादी अध्यक्ष ओखलढुङ्गा आउने तय भएपछि नेकपा–माओवादीले जिल्लाका विभिन्न ठाउँका सडकमा रुख ढालेर सडक अवरोध गर्नुका साथै यातायात बन्द गरेका थिए ।

प्रचण्ड देश दौडाहामा, एकै दिन तीन जिल्लामा

संविधानसभाको निर्वाचनमा आफ्नो पार्टी र आफ्ना पार्टीका उम्मेदवारहरुको प्रचारप्रसारका लागि एमाओवादी अध्यक्ष प्रचण्ड दौडधुप ह्वात्तै बढेको छ । काठमाडौं १० र सिरहा ५ को आफ्नो निर्वाचन क्षेत्रदेखि पार्टीका जिल्ला तहले गरेका चुनावी अभियानसम्म प्रचण्ड पुग्ने गरेका छन् ।

सोमबार मात्रै चुनावी अभियान अन्तर्गत उनी काठमाण्डुको चुनावी कार्यक्रम तथा अन्तरक्रियाहरु भ्याएर अन्य तीन जिल्ला पुगे । प्रचण्ड सोमबार ताप्लेजुङको चुनावीसभा सकेर ओखलढुङ्गा पुगे । ओदलढुंगाको चुनावी कार्यक्रम सके लगत्तै उनस् सोलुखुम्बुको सल्लेरी लागे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us