निर्वाचन बिथोलिए प्रतिगमनः यादव

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ९:३० मा प्रकाशित

Upendra-Yadavविराटनगर, ११ कात्तिक । मधेसी जनअधिकार (फोरम) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन बिथोलिए मुलुक प्रतिगमनतर्फ उन्मुख हुने बताएका छन् । असन्तुष्ट नेकपा–माओवादीसहितका ३३ दल मुलुकको हितका लागि सहमतिमा आउनुपर्ने भन्दै प्रतिगमनतर्फ नलाग्न यादवले सुझाव समेत दिएका छन् ।

‘मुलकमा स्थायी शान्ति, राजनीतिक स्थायित्व र संविधानको दिगोपनाका लागि निर्वाचन पछि बन्ने सरकार र मुख्य दलहरुले नेकपा–माओवादीलगायतका दलसँग वार्ता र छलफल गरेर सहमति कायम गर्नुपर्छ’, विराटनगरमा सोमबार सञ्चारकर्मीसँगको भेटमा उनले बताए ।

मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका अध्यक्ष यादवले आगामी निर्वाचनमा आफ्नो पार्टी मधेसको ठूलो पार्टी बन्ने र निर्वाचनमा कसैसँग पनि तालमेल नहुने जिकिर समेत गरेका छन् ।

मुलुकको शासन व्यवस्था सञ्चालन कर्मचारीतन्त्रबाट हटाई राजनीतिक दलको नेतृत्वमा ल्याउनका लागि निर्वाचनमा अत्याधिक सहभागिता हुनुपर्ने उल्लेख गर्दै यादवले प्रतिगामी शक्ति मुलुकमा अस्थिरता फैलाउनमा क्रियाशील रहेको दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us