
काठमाण्डु, ११ कात्तिक– व्यवस्थापकीय त्रुटिका कारण मुसाले काटेर गत असोज १२ गते नेपाल टेलिकमको मोबाइल सेवा अचानक बन्द भएको बताइएको छ ।
नेपाल दूरसञ्चार संस्थानका पूर्व महाप्रबन्धक सुरेशकुमार पुडासैनीको संयोजकत्वमा गठित छानिव समितिले सुन्धारा र बबरमहलको बीचमा रहेको अप्टिकल फाइबर काटिन जाँदा सो घटना भएको उल्लेख गरेको हो ।
संयोजक पुडासैनीले सञ्चारमन्त्री माधवप्रसाद पौडेलसमक्ष व्यवस्थापकीय त्रुटीले अवरुद्ध भएको प्रतिवेदन सोमबार बुझाउँदै भने, ‘तार काटिएर अवरुद्ध भएको देखियो । काटिने काम मुसाबाट पनि हुन सक्छ, मानिसले पनि हुन सक्छ तर यसो हेर्दा मानिसले गरेको देखिएन मुसाले गरेको जस्तो देखियो, कुनै बदनीयत भएको देखिएन ।’
आगामी दिनमा यस्ता घटना हुन नदिन प्रतिवेदनमा दोषीलाई विभागीय कारबाहीको लागि सुझाव दिइएको छ । सो समितिमा प्रधानमन्त्री कार्यालयका सहसचिव महेन्द्रकुमार थापा र सञ्चार मन्त्रालयका उपसचिव गौरव गिरी सदस्य रहेका थिए ।
असोज १२ गते बिहान ५ बजेबाट झन्डै पाँच घन्टा सेवा अवरुद्ध हुनुमा भने २४ सैँ घन्टा काममा खटिने कर्मचारीको अभावका कारण भएको बताइएको छ । प्रतिवेदन सोमबारै सार्वजनिक गरिने तथा यसको कार्यान्वयनको लागि आवश्यक प्रक्रिया अघि बढाउने र कार्यान्वयन भए नभएको हेर्न अनुगमन संयन्त्र विकास गरिने पनि उनले बताए ।