
काठमाण्डु, ११ कात्तिक–नेकपा एमाले महासचिव ईश्वर पोखरेलले देश र जनताको समृद्धिकालागि आफ्नो पार्टीलाई स्पष्ट बहुमत दिन मतदातासँग आग्रह गरेका छन् । काठमाण्डु निर्वाचन क्षेत्र नं ५ अन्तर्गत सोमबार बिहान सुकेधारामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान निर्माणपछि देशलाई आर्थिक समृद्धितर्फ लैजान एमाले मात्रै सक्षम रहेको जिकीर गरे ।
सामाजिक सुरक्षा, स्थानीय विकास निर्माण तथा विकास निर्माणमा जनसहभागितालगायत कार्ययोजनामा एमालेको दृष्टिकोण उत्कृष्ट रहेको उनको भनाइ थियो ।
‘जनताको जीवनस्तर उकास्न एमालेको जित आवश्यक’
नेकपा एमाले पोलिटब्युरो सदस्य सुरेन्द्रप्रसाद पाण्डेले आगामी पाँच वर्षभित्र नेपाललाई नयाँ विकासको बाटामा लैजाने बताएका छन् । पूर्वी चितवनको कठारमा सोमबार भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले प्रतिव्यक्ति आय, सामाजिक तथा भौतिक विकास र मानव विकासका परिसूचकमा उपलब्धि हासिल गराउन प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाए ।
चुनावी प्रचारका क्रममा कठार गाविसको शान्तिबजारलगायत स्थानमा पुगेका पूर्वअर्थमन्त्री पाण्डेले नेपाललाई अति कम विकसित राष्ट्रको तहबाट माथि उठाएर विकासशील देशको श्रेणीमा पुर्याउने धारणा राखे ।