शेरबहादुर देउवाका प्रतिस्पर्धी खगराज भट्ट भन्छन् ‘परिणाम घोषणाको प्रतिक्षामा छौं’

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते २:१० मा प्रकाशित

Khgaraj-Bhatta & Sher-Bahadur-Deuwaनेपाली कांग्रेसका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धामा उत्रिएका खगराज भट्ट सुदुरपश्चिमका सशक्त र जुझारु युवा नेता हुन् । डडेल्धुरामा संविधानसभाका प्रत्यक्ष तर्फका उम्मेदवार भट्ट एकीकृत माओवादीका केन्द्रीय सदस्य पनि हुन् । सुदुरपश्चिमको बिकासका लागि पार्टी भित्र र बाहिर बिद्रोह गर्ने आँट र क्षमता भएका भट्ट देउवालाई पराजित गरी आफूले जित्ने दावी गर्छन् ।

शेरबहादुर देउवालाई पराजित गरी तपाईले जित्ने आधार के हो ? सुदूरपश्चिमका जनताले काँग्रेसलाई नदिएर एमाओवादीलाई नै मत किन दिने ?
विगतको राज्यसत्ता र त्यसका सञ्चालक राजनीतिक दलका पात्र र प्रवृत्तिबाट सुदूरपश्चिम अपमान र तिरस्कारको शिकार भएको कुरा प्रत्येक जनतालाई थाहा भएकै कुरा हो । जतिसुकै बजेट भाषण गरे पनि यो क्षेत्रमा लोकेन्द्रबहादुर चन्द र शेरबहादुर देउवा आफै प्रधानमन्त्री हुँदा कहिल्यै पनि १० प्रतिशत बजेट नदिएको स्थिति थियो र यो क्षेत्रको संवेदनशीलताप्रति कांग्रेस, एमाले, राप्रपा कहिल्यै गम्भीर र सम्वेदनशील भएनन् । यो कुरा यहाँका जनताले राम्रोसँग बुझेका छन् । यस्तो स्थितिमा विगत जनयुद्धको कालमा पनि यहाँका जनताले हाम्रो पार्टीलाई अद्भूतपूर्व र असाधारण सहयोग गरेकै हो । चुनावमा पनि हाम्रो पार्टीले सम्मानजनक परिणाम प्राप्त गरेकै हो । अहिलेको सम्भावना झन् बढेको छ । किनकि विद्रोह र धु्रवीकरणको प्रक्रिया प्रत्येक जिल्लामा हजारौंको संख्यामा निरन्तर जारी छ ।
शेरबहादुर देउवाले पटक–पटक जित्दै आएको यस क्षेत्रमा यसपटक तपाईले जित्ने थप आधार के छन ?
हो, योभन्दा पहिलेको निर्वाचनमा नै नैतिक र जनमतको हिसावले शेरबहादुर देउवा पराजित भइसकेका हुन् । हाम्रो ४३ सय मत बदर भयो । हामी केवल १३६८ मतले हार्यौं‍ । यो अवस्थामा हाम्रो पुरानो आधार कायमै छ । त्यस्तो स्थितिमा सिंगो पार्टी समर्पणका साथ क्रियाशील भएको स्थिति छ । त्यसपछि कांग्रेस एमालेलगायतका पार्टीहरुबाट हजारौंको संख्यामा पार्टी प्रवेश गरिरहेको स्थिति छ, अर्कातिर पार्टी फुटले खासै असर नपारेको अवस्था छ । कांग्रेस एमालेभित्र आन्तरिक द्वन्द्व र विभाजन चरम रहेको स्थिति र देउवाबाट जनता वाक्कदिक्क भएको स्थितिमा हाम्रो विजय सुनिश्चित भइसकेको छ ।
त्यसो भए कांग्रेसको गढ मानिने डडेल्धुरामा यसपटक एमाओवादीले जित्ने ग्यारेन्टी भइसक्यो ?
एकदमै सही हो । मात्र हामीले मंसिर ४ गते निर्वाचन सम्पन्न भइसकेपछि ५ गते परिणाम घोषणाको प्रतीक्षामा छौं ।
एमाओवादीको प्रभाव विस्तार हुनुको मूल कारण के हो ?
यहाँका जनता अत्यन्त सचेत छन् । विगत निर्वाचनमा कांग्रेसको बाहुबल, धनबल र प्रतिस्पर्धी शक्ति र व्यक्ति नभएको स्थितिले नै उनले (शेरबहादुर देउवा) जित्दै आएका हुन् । अहिले त्यो अवस्था छैन । देशभरि नै कांग्रेस पार्टीका इमान्दार कार्यकर्ताहरु पार्टीभित्रै उपेक्षित हुनु, भ्रष्ट अनैतिक र गुण्डागर्दी प्रवृत्तिका मान्छेहरु पार्टीभित्र हावी हुनु, चुनावको मुखमा झुठा आश्वासन र असम्भव आश्वासन बाँड्नु तर, तीनचोटी देउवा आफै प्रधानमन्त्री हुँदा पनि जनताको पक्षमा केहीपनि गर्न नसक्नु र माओवादीले निरन्तर रुपमा जनतालाई जागृत र संगठित गर्दै लैजानु यसका प्रमुख कारणहरु हुन् ।

यसपटक उनीहरुले बाहुबलको प्रयोग गर्ने सम्भावना कत्तिको छ ?
उनीहरुले यसभन्दा अगाडि सानातिना शक्तिहरुका विरुद्ध बाहुबल प्रयोग गरेको सत्य हो । योभन्दा पहिलेको चुनावमा पनि हाम्रा झण्डाहरु जलाएर उनीहरुले त्यस्तै चरित्र प्रदर्शन गर्न खोज्दा हाम्रा साथीहरुले उनीहरुलाई धुलोपिठो पारेका थिए । प्रशासनको आडमा र आफ्ना गुण्डाहरुको आडमा सशक्त आक्रमण गर्दा पनि हामीले उनीहरुलाई तह लगाएका थियौं । यसपटक पनि त्यो चरित्रको पुनरावृत्ति गर्नु उनीहरुका लागि भयानक भूल हुनेछ र, उनीहरुको सर्वनाशको सुरुवात पनि हुनेछ । जहाँसम्म धनबलको कुरा पैसा दिए पनि कार्यकर्ताले पैसा खाने र जनतासम्म नपुर्या‍उने र कहीं कतै जनतासम्म पुग्यो भने पनि पैसा खाने, भोट नदिने अवस्था रहेको हुनाले अहिलेको अवस्थामा धनबलबाट जित्ने स्थिति पनि छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us