पूर्वका नौं जिल्ला बन्द

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ३:१७ मा प्रकाशित

इलाम, ११ कात्तिक–संघीय लिम्बुवान राज्य परिषदले सोमबार अरूणपूर्वका नौं जिल्ला बन्द आह्वान गरेको छ । मंसिर चारको दोस्रो संविधानसभा चुनावको विरोध र आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै परिषदले बन्द आह्वान गरेको हो ।

बन्दको कारण ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायत जिल्लामा लामो तथा छोटा दुरीका सवारी साधन कम मात्र चलेका छन् । सवारी साधन नचल्दा सर्वसाधारण मर्कामा परेका छन् ।

बन्द र तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले विभिन्न जिल्लाबाट लिम्बुवानका १२ जना कार्यकर्तालाई केही दिन अघि नियन्त्रणमा लिएको थियो ।
यसैगरी नेकपा–माओवादीले सोमबार ओखलढुंगा बन्द आह्वान गरेको छ । बन्दका कारण सदरमुकामबाट जिल्ला बाहिरिने र भित्रने सवारी साधन चल्न नसक्दा सर्वसाधारण मर्कामा परेका छन् ।

चुनावी प्रचारका क्रममा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड ओखलढुङ्गा जाने भएपछि कार्यक्रम प्रभावित गर्न वैद्य माओवादीले बन्द आह्वान गरेको हो । प्रचण्ड हेलिकप्टरमार्फत दिउँसो ओखलढुंगा र त्यसपछि ताप्लेजुङ जाने कार्यक्रम छ ।

बन्द असफल पार्ने प्रशासनको दावी

स्थानीय प्रशासनले भने बन्दलाई असफल पार्ने जनाएको छ । मङ्सिर ४ मा हुने संविधानसभा निर्वाचन विथोल्न ‘विरोधी तत्वहरूको यस्ता अनावश्यक एवम् अनर्गल दुष्प्रचारको पछि नलाग्न’ आग्रह गर्दै प्रशासनले बन्द हुन नदिने प्रतिबद्धता जनाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us