मन्त्रिपरिषद अध्यक्ष समक्ष न्हूदँ राष्ट्रिय समारोह समितिद्धारा नौं बुँदे माग पेश

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १६:५४ मा प्रकाशित

काठमाण्डु,१० कात्तिक–नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति–११३४ को एक प्रतिनिधिमण्डलले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग भेटी नेपाल संवत्सम्बन्धी नौं बुँदे माग प्रस्तुत गरेको छ ।
समितिका अध्यक्ष डा. चुन्दा बज्राचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरिएपछि यसलाई सम्मान दिनु पर्ने, यसलाई व्यवहारमा ल्याउनु पर्ने, तत्काल राष्ट्रप्रमुख र सरकारी निकायहरूले प्रयोगमा ल्याउने लिखित दस्तावेजमा प्रयोग गर्नुपर्ने माग अघि सारेको हो ।
अन्य मागमा नेपाली मुद्रा तथा नोटमा नेपाल संवत्को प्रयोग गरिनुपर्ने, शंखधर प्रतिष्ठान स्थापना गर्ने कार्य तत्काल थालिनु पर्ने, नेपाल संवत् नयाँ वर्षको नाममै बिदा घोषणा गरिनु पर्ने, नेपाल सरकारकै नेतृत्वमा मूल समारोह समिति गठन गरी मनाउने परम्परा थालनी गरिनु पर्ने, संवत्का प्रवर्तक संखधर साख्वाः र संवत्सम्बन्धी पाठ्यसामग्री पाठ्यक्रममा समावेश गरिनु पर्ने र नयाँ वर्ष राष्ट्रिय रूपमा मनाउन राज्यबाट आर्थिक कोषको व्यवस्था गरिनु पर्ने रहेका छन् ।
प्रतिनिधिमण्डलमा मानवअधिकारवादी नेता मल्ल के. सुन्दर, वरिष्ठ सञ्चारकर्मी पुष्करलाल श्रेष्ठ, उद्योगपति एवम् समाजसेवी लक्ष्मीदास मानन्धर, समितिका सचिवालय सदस्यहरू सुजीव बज्राचार्य, राजेश शाक्यलगायत थिए ।
भेटका क्रममा समारोह समितिले यही आउँदो कार्तिक १८ गते बसन्तपुरमा आयोजना गर्ने न्हूदँ समारोहमा प्रमुख अतिथिको रूपमा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीलाई आमन्त्रण गरेको थियो ।
सो अवसरमा अध्यक्ष रेग्मीले प्रमुख अतिथिको निमन्त्रणालाई स्वीकार गर्दै सम्बन्धित मन्त्रीहरूसँग छलफल गरी नेपाल संवत्सम्बन्धी गर्नुपर्ने कार्यहरू अघि बढाउने आश्वासन दिएको सचिवालय सदस्य सुजीव बज्राचार्यले जानकारी दिए ।
नेपाल संवत् ११३४ अवसरमा विविध कार्यक्रम गरिने
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान भक्तपुरले नव वर्ष नेपाल संबत् ११३४ विविध कार्यक्रम गरी मनाउने भएको  छ ।
थिमिस्थित कार्यालयमा आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धरले नेपाल संवत् ११३४ को अवसरमा हरेक वर्ष झै यसवर्ष पनि आगामी १८ गते सोमबार थिमि शंखधर साख्वाः चोकस्थित शंखधर साख्वाःको सालिकमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले माल्यार्पण गर्ने जानकारी दिए ।
यसका लागि विभिन्न समिति बनाएर कार्यक्रमको तयारी पूरा गरिएको छ । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकालाई सम्मान गरिने जानकारी दिँदै अध्यक्ष मानन्धरले नेपाल संवत्लाई सरकारी कामकाजमा प्रयोगमा ल्याउन सरकारसँग माग गरे ।
पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले कार्यक्रममा सुरक्षा व्यवस्था मजबुत पारिने बताए भने स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसी र मध्यपुरथिमि नगरपालिकाका कार्यकारी अधिकृत मित्रमणि पोखरेलले कार्यक्रमलाई सफल बनाउन स्थानीय निकायको सहयोग रहने विश्वास दिलाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us