युवा कार्यकर्ताको दुई घण्टा थुनामा नेताहरु

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १०:१० मा प्रकाशित

foram-loktantrikबारा, १० कात्तिक– सिफारिस गरिएका उम्मेदवारहरुलाई समावेश नगरेको झोंकमा मधेसी फोरम लोकतान्त्रिकका युवाहरुले आफ्नै उम्मेदवार तथा नेताहरुलाई थुनेका छन् ।

जिल्ला समितिको बैठक बसिरहेका नेताहरुलाई युवाहरुले कार्यालयमै तालाबन्दी गरिदिएका हुन् । नेताहरु थुनिएपछि प्रहरीले दुई घण्टा पश्चात बल प्रयोग गरी उनीहरुलाई थुना मुक्त गरेको छ ।

बारा क्षेत्र नं. ५ का प्रत्यक्ष उम्मेदवार ओमप्रकास चौधरी, क्षेत्र नं. ३ का उम्मेदवार कलावती पासवान र क्षेत्र नं. २ का उम्मेदवार सानीमियाँ ठकुराईलाई सोही पार्टीका युवाहरुले दुई घण्टा थुनेका हुन् । थुनिने नेताहरुमा समानुपातिक उम्मेदवार तथा केन्द्रीय सदस्य अहमद हवारी र हरिबाबु चौधरी लगायतका अरु पनि थिए ।

लोकतान्त्रिकका जिल्ला अध्यक्ष मिश्रीलाल सहनीको नेतृत्वले सिफारिस गरेका उम्मेदावारहरु पार्टीले समावेश नगरेको र समानुपातिकतर्फ समावेशी रुपमा उम्मेदवार छनोट नगरिएको भन्दै आक्रोशित युवा कार्यकर्ताहरुले नेताहरुलाई नियन्त्रणमा लिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us