अवैतनिक दूतको काम गर्न विश्वका उच्च हिमाल चढ्ने महिला समूहसँग आग्रह

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १२:४४ मा प्रकाशित

SONY DSCकाठमाण्डु, १० कात्तिक– नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ विश्वका उच्च सातवटा हिमाल चढ्ने अभियान थालेको ७ औं आरोहण महिला समूहले सरकारसँग सहयोगको आग्रह गरेको छ ।

विश्वका चारवटा अग्ला शिखरहरुको सफल आरोहण गरिसकेको सो समूहले अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई भेटी आफ्नो अभियानमा सहयोग गर्न आग्रह गरेको छ । समावेशी महिला समूहका नाममा सन् २००८ मा यो समूहले विश्वको अग्लो शिखर सगरमाथाको सफल आरोहण गरी अभियान थालेको थियो ।

सो समूहलाई अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नारीहरुको अदम्य साहसले देशको पर्यटनमा अद्वितीय योगदान पुगेको भन्दै अभियानलाई सार्थक बनाउन सरकार सहभागी हुने आश्वासन दिएका छन् । आफू पुगेको ठाउँमा पर्यटन क्षेत्रको विकासका लागि अवैतनिक दूतको काम गर्न आग्रह समेत गर्दै कोइरालाले भने, ‘आफूले प्राप्त गरेका ज्ञान र अनुभव अर्को पुस्तालाई सन्देशका रुपमा पुर्‍याउन सरकारको आग्रह छ ।’

समूहले आगामी माघ महिनामा अर्जेन्टिनाको अकनकागुवा हिमाल चढ्ने अभियानका संयोजक शैली बस्नेतले बताए । समूहमा शैली बस्नेत, आशाकुमारी सिंह, पुजन आचार्य, पेमादिकी शेर्पा, माया गुरुङ, चुनु गुरुङ र निमाडोमा शेर्पा सदस्य छन् । उनीहरुले यसअघि अष्ट्रेलिया कोजिअस्को, युरोपको एल्ब्रुस र अफ्रिकाको किलिमाञ्जरोको सफल आरोहण गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us