
भद्रपुर, १० कात्तिक– स्थानीय बजारमा तरकारीको मूल्य बढेपछि गृहिणी घरखर्च कसरी धान्ने भन्ने चिन्ताले पिरोलिन थालेका छन् । अन्य खर्चमा छुट्टाएको रकम तरकारी खरिदमै खर्च हुन थालेको उनीहरूको गुनासो छ ।
एक साताअघिसम्म प्रतिकिलो रु २५ मा पाइने आलु यतिखेर प्रतिकिलो रु ६० मा पुगेको छ । प्याजको मूल्यमा पनि दुई महिनादेखि कमी आएको छैन् । झापाको बजारमा प्याज प्रतिकिलो रु १२० मा बिक्री भइरहेको छ ।
आलु र प्याजको मूल्य वृद्धिका साथै अन्य तरकारीको मूल्यमा वृद्धि भएको छ । सोही अनुरुप, काउली प्रतिकिलो रु ८०, करेला प्रतिकिलो ६०, भन्टा प्रतिकिलो रु ६०, बोडी प्रतिकिलो रु ६०, साग प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ४० देखि ७० सम्म, काउली प्रतिकिलो रु ४० र परवल प्रतिकिलो रु ६० पुगेको छ ।
गृहिणी अमिता झा भन्छिन्, ‘महिनाभरमा खरिद गर्ने तरकारीका लागि छुट्टयाएको रकम आधा महिनामै तरकारी खरिदमा खर्चिएको छ । तरकारी मात्रै होइन की अन्य सामानको मूल्यमा वृद्धि भइरहेकाले आम उपभोक्ता मारमा परेका छन् ।’
भारतमा प्याज र आलुको मूल्यमा निरन्तर रूपमा वृद्धि भइरहेका कारण त्यसको प्रत्यक्ष प्रभाव बजारमा परेको छ । भारतीय तरकारीमाथि अत्यधिक निर्भरताले गर्दा सर्वसाधारण उपभोक्ता महँगीको मारमा परेका हुन् । रासस