भोट माग्न उम्मेदवारलाई हम्मेहम्मे

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १०:४८ मा प्रकाशित

election nepalनेपालगन्ज, १० कात्तिक– संविधानसभा निर्वाचनका लागि यहाँका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई जनतासँग ‘भोट’ माग्न अहिले ‘हम्मेहम्मे’ परेको छ ।

ग्रामिण क्षेत्रका जनताको घरमा पुग्दा अधिकांश परिवारका सदस्य धान काट्न खेतमा जाने गरेकाले न्वारानदेखिको बल झिकेर ठसठस कन्दै जनताको दैलोसम्म पुगेका उम्मेदवारहरु जनताको घरको पानी पिएर फर्कने गरेको अवस्था छ । दशै‌लगत्तै ग्रामीण कृषकलाई धान काट्ने चटारो पर्नु र उम्मेदवारको कसरत पनि तिहारअघि नै घरदैलो भ्याउने समय जुधेपछि जनता र उम्मेदवारबीचको भेट ‘लुकाछिपी’ को खेल जस्तै भएको छ ।

अर्कोतर्फ यसपटकको निर्वाचनमा आयोगले आचारसंहिता पालनामा निकै कडाइ गरेपछि माइकिङको आवाजले सहर नै थर्काउने नियति जनताले भोग्नु परेको छैन भने राजनीतिक दलको विशाल जनसभामा मन नलागेर भए पनि आउनुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । संविधानसभा निर्वाचनका लागि यस जिल्लामा १३४ मतदानस्थल (केन्द्र) र २९५ बुथ रहने व्यवस्था गरिएको छ ।

यसपटकको संविधानसभा निर्वाचनका लागि बाँके जिल्लामा दुई लाख १५ हजार मतदाताको अन्तिम नामावली पनि जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरिसकेको छ । प्रजातन्त्रको मेरुदण्ड मानिने निर्वाचनप्रति आमनेपाली जनता मन, वचन र कर्मले प्रतिबद्ध देखिएका छन्, नागरिक प्रश्न गर्छन् “निर्वाचनपछि दलहरुले साँच्चिकै संविधान बनाउँछन् ?” रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us