शान्तिपूर्ण विरोध गर्न वैद्य माओवादीलाई सुजाताको आग्रह

काठमाण्डु टुडे २०७० कार्तिक १० गते ८:२४ मा प्रकाशित

Sujata-Koirlaविराटनगर, १० कात्तिक– नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेकपा–माओवादीलाई निर्वाचनमा शान्तिपूर्ण ढङ्गबाट विरोध गर्न आग्रह गरेकी छिन् । नेकपा–माओवादीको नाममा अरुले फाइदा लिन सक्ने भन्दै नेत्री कोइरालाले शान्तिपूर्ण विरोधका लागि आग्रह गरेकी हुन् ।

निर्वाचन वहिष्कार गर्दै बिथोल्ने औपचारिक घोषणा गरेका वैद्य समूहको नाममा अन्य अपराधीले हत्या, हिंसा गर्नसक्ने भन्दै नेत्री कोइरालाले नेकपा–माओवादीलाई सचेत गराएका हुन् । ‘निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न नेकपा–माओवादीले पनि सहयोग गर्र्नुपर्छ’ विराटनगरमा आइतबार सञ्चारकर्मीसँगको भेटमा उनले बताइन् ।

वैद्य समूहलाई निर्वाचनअघि र पछाडि पनि सहमति कायम गर्न चार दल र वर्तमान सरकारसँग आग्रह गर्दै उनले भनिन्, ‘वैद्य समूहको सहभागिताबिनाको निर्माण गरिने संविधानले सार्थकता पाउँदैन, जसरी पनि नेकपा–माओवादीलाई निर्वाचनमा सहभागी गराउनुपर्छ ।’

नेत्री कोइरालाले विगतमा पार्टीभित्र भएको असमझदारी बिर्सेर एक ढिक्का भई आगामी निर्वाचनमा गएमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याउने ठोकुवा समेत गरेकी छिन् । काँग्रेसले संविधानसभा निर्वाचनमा उम्मेदवार चयन गर्दा केन्द्रमुखी ढंगबाट गरेको आरोप पनि लगाइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us