एमालेले बहुमत ल्याउने अध्यक्ष खनालको दावी

काठमाण्डु टुडे २०७० कार्तिक १० गते ६:१३ मा प्रकाशित

Jhalanath-Khanalइलाम, १० कात्तिक–नेकपा एमालेका अध्यक्ष तथा इलाम निर्वाचन क्षेत्र नं–१ का उम्मेदवार झलनाथ खनालले संविधानसभाको निर्वाचनबाट आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने बताएका छन् । रासस सम्वाददातासँग आइतबार विहान कुरा गर्दै अध्यक्ष खनालले एमालेको स्थिति अहिले बलियो बन्दै गएकाले बहुमत ल्याउने दावी गरे । ‘एमालेले बहुमत ल्याएपछि मात्र संविधान बन्ने सुनिश्चित हुन्छ,’ उनले भने ।

उनले लोकतान्त्रिक शक्तिबीच चुनावी तालमेलको सम्भावना पनि औंल्याए । अहिलेको अवस्थामा संविधान निर्माण, लोकतन्त्र संस्थागत, सामाजिक, आर्थिक रूपान्तरण, विकास निर्माणलाई तीब्रता, मुलुकमा दिगो शान्ति स्थापना गर्नुलाई एमालेले चुनावको मुख्य बनाएको उनले जानकारी दिए । नेकपा एमालेको विजय पश्चात् मुलुक शान्ति र समृद्धिको पथतर्फ लम्कने भन्दै उनले देशलाई भय र त्रासबाट मुक्त गराई आर्थिक समृद्धितर्फ डोर्याउन एमाले तयार रहेको बताए ।

उनले इलाम क्षेत्र नम्बर १ का १५ गाविसमध्ये कन्याम, कोल्बुङ, गोर्खे, जिर्मले, इरौंटार, फिक्कल, पशुपतिनगरसम्म घरदैलो अभियान र चुनावी सभा सम्पन्न गरिसकेका छन् । जिल्लाको समग्र विकासका निम्ति आफू दृढ रहेको उनको भनाइ छ । कूल ५९ हजार ८१४ मतदाता रहेको इलाम निर्वाचन क्षेत्र नं १ मा अध्यक्ष खनाल सहित, एकीकृत नेकपा माओवादीका युवकुमार पौडेल र का नेपाली काँग्रेसका हिमालय कर्माचार्य उम्मेदवार रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us