अघोसित लोडसेडिङले प्युठानी आक्रोशित

काठमाण्डु टुडे २०७० कार्तिक १० गते ५:१२ मा प्रकाशित

प्युठान, १० कात्तिक–प्युठानमा अघोसित लोडसेडिङ हुदा स्थानीय आक्रोशित बनेका छन् । करीब एक महिना अघिदेखि प्युठानमा साँझ ६ बजेदेखि ८ बजेको बीचमा लोडसेडिङ हुदै आएको छ । हरेक दिन साँझ घर भित्र पस्ने, खाना पकाउने र बालबालिकाले पढ्ने बेलामा लोडसेडिङ गर्दा प्युठानका ८० हजार भन्दा बढि विद्यार्थी मर्कामा परेका छन् । विद्यार्थीको पढाईमा बाधा पुगेको छ भने एक लाख भन्दा धेरै सर्बसाधरण बिजुली बत्तिको मासिक बिल तिरेर पनि घरमा टुकी बालिरहेका छन् । प्यूठानका संचार माध्यम समेत प्रभावित भएका छन् ।

प्युठानीको गास काटेर निर्माण गरिएको झिमरुक जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्युठान कै जनताले प्रयोग गर्न नपाएपछि आक्रोशित भएका छन् । लोडसेडिङ विरुद्धको संघर्ष समितिका सचिव अर्जुन कुमार कक्षपतीले लोडसेडिङ अन्त्य नभए मंसिर ४ को संविधानसभा निर्वाचनपछि सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल बिद्युत प्राधिकरण प्यूठानका प्रमुख शिव प्रसाद पाण्डेले अघोषित लोडसेडिङमा आफूहरुको कुनै भूमिका नभएको बताए । बुटवल पावर कम्पनीले लाइन काटेपछि आफूहरुको केही नलाग्ने उनको भनाइ छ ।

यसअघि २०६९ पुस महिनामा लोडसेडिङ विरुद्ध आन्दोलनमा उत्रिएका प्युठानवासीको तोडफोड र आगजनले बुटवल पावर कम्पनीको कार्यालयमा ठूलो क्षति पुगेको थियो । त्यसपछि प्युठान जिल्लामा लोडसेडिङ नगर्ने कम्पनीसँग सम्झौता भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us