काठमाण्डु ११ कात्तिक–नेकपा एमालेले आफनो पार्टीका पूर्व सभासद रामचन्द्र कुशवाहा प्यासीलाई पार्टी र सम्बन्धित जनवर्गीय संगठनका कुनै पनि जिम्मेवारीबाट मुक्त गर्दै पार्टी सदस्यताबाट निष्काशन गरेको छ ।
प्यासीले एमाले केन्द्रीय सदस्य तथा बारा क्षेत्र नम्बर ४ बाट संबिधानसभा सदस्य निर्वाचनका उम्मेदवार मोहमुद आलम हत्यामा संलग्न रहेको साविति बयान दिएपछि अध्यक्ष झलनाथ खनालले उनलाई पार्टीबाट निस्काशन गरेका हुन । खनालले सोमबार प्रेस बिज्ञप्ति जारी गरी घटनाको समग्र छानवीन गरी अभियुक्त प्यासी लगायत हत्याका सबै मतियार उपर कानुनी कार्वाही सशक्त रुपमा अघि बढाउन प्रहरी प्रशासनलाई सचेत गराएका छन ।
एमालेका तर्फबाट बारा क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका महमुद आलमको हत्याको योजना पूर्व सभासद तथा एमाले नेता रामचन्द्र प्यासी कुशवाहले नै गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। प्रहरीले आलम हत्याको योजना ६ महिना अघि नै बनेको बताउँदै पटकपटकको प्रयास पछि मात्र हत्या योजना सफल भएको बताए । प्रहरीले तीनपटकको प्रयासपछि हत्या गर्न सफल भएको बताएको छ । आलम हत्या अभियोगमा पक्राउ परेका कुशवाहासहित दुई जनालाई प्रहरीले सार्वजनिक गर्ने क्रममा प्रहरीले सो खुलासा गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार बेलुका पक्राउ गरेका कुशवाहासहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बाराले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले कुशवाहा र भारतीय नागरिक अतिक खान र राजु श्रीवास्तवलाई सार्वजनिक गरेको हो । उनीहरुलाई बाराको पथलैयाबाट पक्राउ गरिएको थियो ।
बन्जरिया–८, बैलहियाका कुशवाहा अघिल्लो संविधानसभामा एमालेबाट समानुपातिकतर्फका सभासद थिए । विगतमा शिक्षक र सामाजिक कार्यकर्ताका रुपमा रहेका ५० वर्षीय कुशवाहा यसपटक पनि संविधानसभा निर्वाचनमा टिकटका आकांक्षी थिए । तर, प्रत्यक्ष र समानुपातिकमा समेत नाम नपरेपछि उनी असन्तुष्ट थिए । प्रत्यक्षतर्फ उम्मेदवारको टिकट नपाएकै कारण उनले आलम हत्याको योजना बनाएको अनुसन्धानमा संलग्न सुरक्षास्रोतको दावी छ ।
आलमसँग नियमित सम्पर्कमा रहेको टेलिफोन नम्बर, घटनाको दिन सम्पर्क भएका नम्बर र घटनाको जिम्मेवारी लिने संगठनका राजन प्रताप र अर्जुन सिंहसँग सम्पर्कमा देखिएका नम्बरको आधारमा कुशवाहामाथि अनुसन्धान केन्द्रित गरी प्रहरी यो निष्कर्षमा पुगेको हो ।
असोज १७ गते बाराको लिपनीमाल–४ स्थित चावासोती राइसमिलबाट निस्कँदै गर्दा आलमलाई विहान साढे ११ बजे मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली हानेका थिए । भारतीय नम्बरप्लेटमा आएका ती व्यक्तिमध्ये एकजनाले हात मिलाउने क्रममा टाउकोमा पेस्तोलबाट गोली हानेर त्यही मोटरसाइकलमा भागेका थिए । गोली लागेको आठ दिनपछि आलमको काठमाण्डुमा उपचारको क्रममा मृत्यु भएको थियो ।