धारिलो हतियार प्रयोग गरी दुईजनाको हत्या

काठमाण्डु टुडे २०७० कार्तिक १० गते ३:३६ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक–सिरहा र मकवानपुरमा धारिलो हतियार प्रयोग गरी दुईजनाको हत्या भएको छ ।

धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा सिरहा बडहरामाल गाविस ५ मा पर्ने भेडवा पुल नजिकै एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक पूर्णचन्द्र जोशीकाअनुसार करिब ३५ वर्षीया मधेसी मुलकी महिलाको घाँटी काटेर हत्या गरिएको अवस्थामा शव भेटिएको छ । उनको पहिचान भने खुलेको छैन ।

शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव नजिकै झोलामा मुलाको साग, १ किलोजति चामल पनि फेलापरेको प्रहरीले जनाएको छ । प्रहरीले सो घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

मकवानपुरमा एकजनाको हत्या

यसैगरी मकवानपुरको हेटौडा–८ कमानेका २६ वर्षीय गोविन्द ब्लोनको हत्या भएको छ । घरमा बसिरहेका ब्लोनलाई शनिवार राती अज्ञात समूहले छुरा प्रहार गरी हत्या गरेको हो । पाँचजनाको समूह आएर ब्लोनलाई आक्रमण गरेको स्थानीयले बताएका छन् ।

हत्या अनुसन्धान गर्न प्रहरीले स्थानीय सुरेश मिश्र र इन्द्र स्याङ्तानलाई पक्राउ गरेको छ । व्यक्तिगत रिसिइवीको कारण हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us