एउटा वडामा एकजना मात्र मतदाता

काठमाण्डु टुडे २०७० कार्तिक १० गते २:५५ मा प्रकाशित

इलाम, १० कात्तिक–इलामको लुम्दे गाविस वडानम्बर ८ मा एक जनामात्र मतदाता रहेका छन् । पदमसुन्दर लावती गृहमन्त्री भएका समयमा लुम्देको ८ नम्बर वडालाई २०३४ सालमा पाँचथरको रवि गाविस वडा नम्बर ५ मा गाभेपछि लुम्देमा आठ वटामात्र वडा छन् ।

कुल एक हजार ३६० मतदाता रहेको लुम्दे गाविसको सो वडामा एकमात्र मतदाता रहेका हुन् । १६६४५२४२ फाराम नम्बर भएका फिरोज चौहान ८ नम्बर वडाका एक्ला मतदाता हुन् । रविमा गाभिए पनि गाउँ–गाउँमा मतदाता नामावली सङ्कलन गर्ने कर्मचारी खटिएका समयमा उनले इलामबाटै फोटो खिचाएका हुन् ।

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा एक लाख ६३ हजार ५४८ मतदाता छन् । जिल्लाका एक नगरपालिका र ४८ वटा गाविसमध्ये इलाम नगरपालिकामा सबैभन्दा बढी नौं हजार ७३३ जना मतदाता छन् भने सबैभन्दा कम लुम्देमा एक हजार ३६० छन् ।

श्रीअन्तु गाविसमा एउटामात्र मतदान केन्द्र छ भने चुलाचुलीमा छ र इलाम नगरपालिकामा नौ वटा मतदान केन्द्र रहेको छ । मतदाता सङ्ख्या बढाएर निर्वाचित हुने दाउमा लावतीले त्यतिबेला ८ नं वडालाई पाँचथरमा गाभेको स्थानीय मात्रिका चौहान बताउछन् । गुमेको वडा फर्काउन प्रयास गरे पनि हालसम्म सफल हुन सकेको छैन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us