नेतालाई चुनाव, किसानलाई बाली भित्राउने चटारो

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १:५१ मा प्रकाशित

बर्दिवास, १० कात्तिक–मुलुक संविधानसभा निर्वाचनमा होमिएकै बेला महोत्तरीका किसानलाई भने अहिले धान भित्र्याउने र हिउँदेबाली लगाउने चटारो बढेको छ । कात्तिकको दोस्रो साता सुरु भएसँगै खेतमा पाकेको धान भित्र्याउने र गहुँ, चना, केराउलगायतका हिउँदेबाली लगाउने चटारो एकसाथ बढेको जिल्लाका किसानले बताएका छन् ।

राजनीतिक दलका नेताहरु मुलुकको भविष्य निर्धारण गर्न आसन्न निर्वाचन महत्वपूर्ण अवसर रहेको बताइरहेका बेला कामको चटारोले चुनावका कुरा राम्रो बुझ्न नसकिएको जिल्लाका किसानको भनाइ छ । मुलुकको भविष्य निर्धारण गर्ने चुनावको विषय बुझ्न मन भए पनि वर्षभरि गुजारा गर्नुपर्ने बाली भित्र्याउने र लगाउने समय एकसाथ पर्दा त्यसका लागि समय छुट्याउन गाह्रो परेको बर्दिवास–४ का किसान भानुभक्त काफ्लेले बताए ।

पछिल्ला केही वर्षदेखि जिल्लाका ग्रामीण बस्तीका कृषि मजदुर कामका लागि भारतको पञ्जाव र हरियाणा जाने क्रम बाक्लिएपछि समयमै खेतीको काम सक्न हम्मेहम्मे पर्ने गरेको जिल्लाका आम किसानको गुनासो छ । गाउँघरमा कृषि काम गर्ने युवा भारत पलायन भएपछि घरपरिवारकै जहानले सारा काम धान्नुपर्ने स्थिति रहेको भङ्गाहा–३ पलार बस्तीका अर्का किसान चौठी बातरको भनाइ छ ।

यसैबेला हिउँदेबालीसँगै उखु रोप्ने समय पनि नजिएकाले आफूहरुलाई भ्याइनभ्याई परेको किसानको भनाइ छ । खेतीको चटारो र चुनावमा लाग्ने समयकोे समन्वय गर्न गाह्रोपर्दा आफ्नै गाउँबस्तीमा विभिन्न दलले आयोजना गरेका चुनावीसभा हेर्न नपाइएको भन्दै पशुपतिनगर–६ की गृहिणी भद्रमाया आलेले चिन्ता व्यक्त गरिन् ।

जतिसक्दो चाँडो चुनावमा सरिक हुन नै मङ्सिरको पहिलो सातासम्म लगाउन मिल्ने हिउँदेबाली कात्तिक मसान्ताभित्रै लगाइसक्ने तयारीमा आपूmहरु लागेको आम किसानले बताएका छन् । एकसरो खेतीको काम सक्नासाथ चुनावी अभियानमा सरिक हुने आपूmहरुको रहर भने कात्तिक निगल्दोमात्र पूरा हुने उनीहरुको भनाइ छ ।

यता निर्वाचनका लागि चुनावी प्रचार अभियानमा जुटेका उम्मेदवारले पनि खेतीका कामको चटारोले आपूmहरुको घरदैलो अभियानमा अपेक्षित मतदाता भेट हुन नसकेको स्वीकार गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us