आचारसंहिता विपरित विद्यालयमा आमसभा

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १:१२ मा प्रकाशित

जाजरकोट, १० कात्तिक–नेपाली काँग्रेस जाजरकोट क्षेत्र नं.१ का उम्मेदवार दीपकजङ्ग शाहले निर्वाचन आचारसंहिता विपरीत विद्यालयमा आमसभा गरेका छन् । डाँडागाउँ गाविस–६ मा रहेको सूर्योदय माध्यमिक विद्यालय कैनामा आचासंहिता विपरीत आमसभा गरिएको हो ।

विद्यालयमा आमसभा गर्नुको साथै पर्चा पम्पलेट समेत टाँसिएको विद्यालयका प्रधानाध्यापक प्रचण्ड औलीले जानकारी दिए । आफूलाई जानकारी नै नदिई उम्मेदवार शाहले विद्यालयमा आमसभा गर्नुको साथै विद्यालयका कुर्सी, बेन्च र टेवुललगायतका सामग्री प्रयोग गरेको औलीको भनाइ छ ।

निर्वाचन आचारसंहितामा विद्यालयमा आमसभा गर्न नपाइने स्पष्ट हुँदाहुँदै पनि यसरी नियमलाई कुल्चिनु राम्रो नभएको स्थानीयले बताएका छन् ।

यता जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी गणेशविक्रम शाहीले तत्काल उम्मेदवारलाई सचेत गराउने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us