
काठमाण्डु, १० कात्तिक–पार्टी अनुशासन र पद्धतिको उल्लंघन गरेको भन्दै एकीकृत नेकपा माओवादीले धनुषा क्षेत्रनम्बर १ का वागी उम्मेदवार जगकुमार बरबरीया यादव (श्रवण)लाई पार्टीबाट निस्कासन गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार विज्ञप्ति निकालेर पार्टीको साधारण सदस्यसमेत नरहने गरी यादवलाई निस्कासन गरिएको जानकारी दिएका हुन् ।
यादवले पार्टीका आधिकारिक उम्मेदवार रामचन्द्र झा विरुद्ध वागी उम्मेदवारी दिएका थिए ।
‘समस्याको सकारात्मक समाधान गर्न पार्टीको तर्फबाट श्रवणलाई केन्द्रीय कार्यालमा बोलाएर गम्भीर छलफल गरि समयमै मनोनयन फिर्ता गर्ने सहमति समेत भएको थियो । तर, आफ्नो व्यक्तिगत र मनोगत आकांक्षा एवम् विपक्षीहरुको उक्साहटमा आएर श्रवण यादवले पार्टी निर्णय अनुसार मनोनयन फिर्ता लिनुको सट्टा अनुशासन र सहमति उल्लंघन गर्दै पार्टीलाई नै चुनौति दिने अझ गम्भीर गल्ती गर्नुभयो । यो स्थितिमा पार्टी केन्द्रीय कार्यालयले श्रवण यादवलाई पार्टीका सम्पूर्ण जिम्मेवारीका साथै साधारण सदस्य समेत नरहने गरि निस्कासन गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
एकीकृत माओवादीले धनुषा क्षेत्र नं. १ का सम्पूर्ण पार्टी सदस्य एवम् आम जनसमुदायसँग पार्टीको आधिकारीक उमेदवार रामचन्द्र झालाई अत्याधिक बहुमतले विजयी गराउन एकजुट भई पहल गर्न विशेष अनुरोध पनि गरेको छ ।