एमाओवादीलाई कुनै तागतले रोक्न सक्दैनः प्रचण्ड

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते १३:५४ मा प्रकाशित

prachanda_communist_fistउदयपुर, ९ कात्तिक– एकीकत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाओवादीलाई दुई तिहाई बहुमत ल्याउन कुनै तागतले पनि रोक्न नसक्ने बताएका छन् ।

जनताको भरोसाको केन्द्र एमाओवादी भएको दावी गर्दै प्रचण्डले भने, ‘देशैभरबाट एमाओवादीमा जनलहर आएको छ, हामीलाई दुई तिहाई बहुमत ल्याउन कुनै तागतले रोक्न सक्दैन ।’ उदयपुरको क्षेत्र नं. १ मा चुनावी जनसभालाई सम्वोधन गर्दै प्रचण्डले जनयुद्धकालमा माओवादी नेताको टाउको काटेर ल्याउनेलाई झोलाभरि पैंसा दिन्छौं भन्ने काँग्रेस एमालेको आदेशलाई जनताले नै लत्याएर पहिलो संविधानसभाको चुनावमा एमाओवादीलाई बहुमत दिएको भन्दै यसपटक पनि त्यस्तै हुने बताए ।

‘काँग्रेस एमाले गणतन्त्र विरोधी हुन्, उनीहरुलाई जनताले नै लतारेर गणतन्त्र मान्न बाध्य बनाएका हुन्’ उनले थपे, ‘गणतन्त्र र संघीयताविरोधीलाई यसपटक बढारेरै फाल्नुपर्छ ।’ उदयपुरका जनताको उपस्थितिले नै विजयको सुनिश्चिता भइसकेको छ भन्दै प्रचण्डले पहिला पनि जिताएका राजन किराँतीलाई यसपटक जिताउन आग्रह गरे ।

जनउभारले उत्साहित छु

नेपाल र पूर्वी तराईका जिल्लामा चुनावी अभियानमा आएका प्रचण्डले शनिबार नै आफू उम्मेदवार भएको सिरहा क्षेत्र नं. ५ मा घरदैलो अभियानमा सहभागी भएका थिए । उनले सिरहामा भने, ‘सिरहामा आफूले उम्मेद्वारी दिएपछि मप्रति सिरहाली जनताले देखाएको नयाँ उत्साह र जनउभारले आफूलाई उत्साहित बनाएको छ ।’

दलितहरुमाथि विगतमा भएको विभेद र शोषण उत्पीडनको क्षतिपूर्तिस्वरुप नयाँ संविधानमा दलितलाई दिइने विशेषाधिकारलाई संस्थागत गरिने बताए ।

सिरहाको चोहर्वामा छुवाछूत निगरानी केन्द्र सिरहाको आयोजनामा भएको संविधानसभाको चुनाव र दलितको सवाल विषयक विचार गोष्ठीमा पनि सहभागी हुँदै प्रचण्डले नयाँ संविधानमा विशेषाधिकारसहित छुवाछूत गर्नेमाथि कठोर कानुन बनाइने उल्लेख गरे ।

‘संविधानसभाका लागि दलितले पनि विगतमा ठूलो बलिदान गरेका छन्’, उनले  भने, ‘दलित, मुस्लिम, महिला, मधेसी, जनजातिको मतको तागत लिएर सिंहदरबारमा पुगेर उनीहरुकै पक्षमा संविधान बनाउने छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us