निर्वाचन रोकिएपछि मालद्वीपमा अन्यौलता

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते १३:३२ मा प्रकाशित

Maldives-Flagकाठमाण्डु– अघिल्लो दिनसम्म निर्वाचनको तयारी गरेको मालद्वीपमा अदालतको आदेश अनुसार प्रहरीले निर्वाचन रोकेपछि अन्यौलतासँगै राजनीतिक चलखेल बढेको छ । गत वर्षदेखि राजनीतिक विद्रोहको चपेटामा परेको यस देशमा गत शनिबारका लागि आह्वान गरिएको राष्ट्रपति पदको दोस्रो निर्वाचन अनिश्चित बनेपछि त्यो राजनीतिक दाउपेचले मालद्वीपले विश्वकै ध्यान तानेको छ ।

पहिलो प्रजातान्त्रिक निर्वाचनमार्फत सन् २००८ मा निर्वाचित त्यहाँका ४६ वर्षीय राष्ट्रपति मोहमद नसिदलाई फेब्रुअरी २०१२ मा नै आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्न नदिई प्रहरीले विद्रोहमार्फत हटाएको थियो । त्यसपछि स्वदेशी र विदेशी सङ्घ संस्था एवम् नेताहरूको दबाबमा गत सेप्टेम्बर ७ का लागि राष्ट्रपति पदको निर्वाचन तोकिएको थियो । तर सो निर्वाचनमा कुनैपनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि र सो निर्वाचनलाई सर्वोच्च अदालतले खारेज गरेपछि अर्काे निर्वाचन गत शनिबारका लागि तोकिएको थियो ।

सो निर्वाचन पनि प्रहरीले अन्तिममा आएर स्थगन गराएको थियो । प्रहरीले गत शनिबारका लागि तोकिएको निर्वाचनका मतपत्र तथा अन्य सामग्री निर्वाचन आयोगबाटै बाहिर जान दिएको थिएन । सो घटनापछि भने मालद्वीपको प्रजतान्त्रिक भविष्यप्रति चिन्ता व्यक्त गरिएको छ । मालद्वीपमा गत सेप्टेम्बरमा भएको निर्वाचनमा सबैभन्दा बढी मत (४५.४५) प्राप्त गर्ने पहिलो उम्मेदवार नसिद नै रहेका र त्यसपछिको निर्वाचनमा उनले बहुमत ल्याउनसक्ने आशङ्कामा प्रहरी यसरी अघि बढेको कारण सङ्टक झन गहिरिएको विश्लेषकहरूको भनाइ छ ।

सर्वोच्च अदालतले मतदान पूर्व उम्मेदवारले मतदाता सूचीमा सहमति व्यक्त गर्नुपर्ने भनी दिएको निर्देशनले समस्यालाई अझै गहि¥याएको छ । मानव अधिकारबादी र पत्रकारको छवि बनाइसकेका राजनीतिकर्मी नसिद मालद्वीपमा सबैभन्दा लामो समय शासन गरेका पूर्व राष्ट्रपति मौमुन अब्दुल गैयुमलाई परास्त गरी सत्तामा आएका थिए । पूर्व राष्ट्रपति गैयुमले त्यहाँ तीन दशकसम्म एकछत्र र निरङ्कुश शासन चलाएका थिए ।

लामो समयका शासक गैयुमको मालद्वीपको शासन प्रशासनमा रहेको प्रभावका कारण यो टकराव सुरु भएको र नसिदलाई आफ्नो कार्यकाल पूरा गर्न पनि नदिइएको बताइन्छ । सातौँ कार्यकालसम्म गरी सन् १९७८ देखि २००८ सम्म गैयुमले नै शासन चलाएका थिए । पछिल्लो निर्वाचनमा पनि गैयुम नै राष्ट्रपति पदको प्रत्यासी रहेको र नसिदबाटै पराजितभएका थिए । राष्ट्रपति पदमा हारेलगतै गैयुमले नसिदको सरकारलाई असहयोग गर्न थालेका थिए ।

त्यो असहयोगको छायाँ मालद्वीपमा करिब डेढ वर्षयतादेखि देखिएको छ । सन् २०१२ को फेब्रुअरीमा नसिदलाई सत्ताच्युत गरेपछि आजसम्म उपराष्ट्रपतिले शासन गर्दै आएका छन् । दुई चरणमा पनि निर्वाचन सम्भव नभएपछि पनि कामचलाउ राष्ट्रपतिले अर्काे निर्वाचनको सुनिश्चितता दिन सकिरहेका छैनन् । अहिलेको प्रहरी नेतृत्व पूर्व राष्ट्रपति गैयूमको प्रभावमा रहेको र राष्ट्रपतिका एकजना उम्मेदवार रहेका उनका भाइले २५ प्रतिशत मत मात्र ल्याएर पराजित भएपछि उनकै पहलमा सो निर्वाचन खारेज गराउने प्रक्रिया सुरु भएको बताइन्छ ।

निर्वाचनमा धाँधली भएको भनी त्यहाँको सर्वाेच्च अदालतमा रिट निवेदन परेपछि अदालतको आदेश बमोजिम दोस्रो चरणको नभई नयाँ निर्वाचन गत शनिबारका लागि तोकिएको थियो । त्यही निर्वाचन पनि प्रहरीले हुन नदिएपछि मालद्वीपमा थप अन्यौल बढ्ने देखिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us