पाउने भए पर्यवेक्षकले मतदान गर्न

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते १३:१० मा प्रकाशित

काठमाण्डु ९ कात्तिक–निर्वाचन आयोगले मंसिर ४ गते हुने संविधानसभा चुनावमा पर्यवेक्षकहरुलाई मतदान गर्न पाउने गरी लचकता अपनाएको छ । आयोगको पछिल्लो निर्णय अनुसार अव पर्यवेक्षकले मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको निर्वाचन स्थलमा मतदान गरी अर्को निर्वाचन स्थलमा पर्यवेक्षण गर्न पाउनेछन् ।
आयोगले भनेको छ, ‘कुनै पनि व्यक्तिलाई निजको मतदाता नामावलीमा नाम समावेश भएको मतदान स्थलको पर्यवेक्षण गर्ने गरी खटाउन पाइने छैन ।’ यो निर्णयबाट कुनै पनि पर्यवेक्षकले आफूले मतदान गर्ने स्थलबाहेक अन्यत्र पर्यवेक्षण गर्न सकिने गरी निर्देशिकामा संसोधन गरिएको छ ।’
यसअघि पर्यवेक्षकको स्थायी बसोबास भएको निर्वाचन क्षेत्रमा पर्यवेक्षणका लागि खटाउन नपाउने तर एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको मतदातालको हकमा भने मतदाता नामावलीमा नाम रहेको गाविसबाहेक अन्य स्थानमा पर्यवेक्षणका लागि खटाउन सकिने व्यवस्था गरिएको थियो ।
निर्देशिकामा संसोधन गरिएपछि पर्यवेक्षकहरु पायक पर्ने निर्वाचन स्थलमा मतदान गरेर अर्को निर्वाचन स्थलमा पर्यवेक्षण गर्न पाउने छन् । तर त्यसो गर्दा पनि १५÷२० हजारभन्दा बढी मतदाता घट्ने छन् । कुल मतदाता संख्या एक करोड २५ लाख छ । चुनावको पर्यवेक्षण गर्नका लागि ७० हजारभन्दा बढी नेपाली नागरिकले निर्वाचन आयोगबाट अनुमति लिएका छन् । तर सबै पर्यवेक्षणमा नखटिने आयोगको भनाई छ ।
पहिले शहरी क्षेत्रमा पर्यवेक्षणलाई प्राथमिकता दिएको भए पनि अहिले भने आयोगले हिमाली, पहाडी र दुर्गम क्षेत्रहरुलाई प्राथमिकता दिएको छ । त्यसैले नगरपालिकाहरुमा केही व्यवहारिक भए पनि अन्य ठाउँहरुम त्यो व्यवहारिक नहुने आयोगको भनाई छ ।
आयोगका सहसचिव महेश्वर न्यौपानेले भने,‘७० हजारले पर्यवेक्षणका लागि अनुमति लिएको भए पनि सबै खटिदैनन् । कति खटिन्नछन् भन्ने एकिन त छैन तर  १०÷१५ हजार पर्यवेक्षक मात्र मतदान गर्नबाट बञ्चित हुनेछन् । अव पर्यवेक्षण गर्नेको संख्या कम भएमा मतदाताको संख्या बढ्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us