चलखेलका कारण संविधान बनेनः डा. भट्टराई

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते १२:०६ मा प्रकाशित

baburam_250काठमाण्डु, ९ कात्तिक । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले संविधान विरोधी यथास्थितीवादी र पुरातन शक्तिहरूको चलखेल हुनुले विगतमा संविधान बन्न नसकेको बताएका छन् ।

माओवादीको कम मत भएका कारण यथास्थितिवादीहरुले चलखेल गर्ने मौका पाएकाले यसपटक स्पष्ट दुई तिहाई मत दिन आग्रह गर्दै यथास्थितिवादीलाई परास्त गर्नुपर्ने डा. भट्टराईले उल्लेख गरे । ‘मंसिर ४ गतेको निर्वाचनमा माओवादीले दुई तिहाई मत नपाए मुलुकले फेरि संविधान पाउँदैन’, काठमाडौंको कलंकी चोकमा शनिबार भएको निर्वाचन क्षेत्र नम्बर ९ को एमाओवादी चुनावी सभालाई सम्बोधन गर्दै नेता भट्टराईले बताए ।

डाक्टर भट्टराईले मंसिर ४ गतेको निर्वाचनमा जनताले संघीयता पक्षधर एकीकृत माओवादीलाई बहुमत दिएर विजयी गराउने विश्वास भने व्यक्त गर्दै बहुमत नआए जनचाहनाअनुसारको संविधान नबन्ने पक्का भएको ठोकुवा गरे ।

सभामा काठमाण्डु निर्वाचन क्षेत्र नं. ९ का एमाओवादीका उम्मेदवार देवेन्द्र पौडेलले जनताका दुःखसुखमा साथ दिने र प्रतिबद्धता व्यक्त गरे । १४ हजार नेपालीको बलिदान पूर्ण इतिहास भएको पार्टीले जनतालाई कहिल्यै धोका नदिने जिकिर गर्दै एमाओवादीलाई साथ दिन आग्रह गरे ।

सभामा नेपाली कॉग्रेस र नेकपा एमाले परित्याग गरेर एमाओवादीमा प्रवेश गरेकाहरूलाई टिका र खादा लगाएर स्वागत गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us