प्रचण्डमाथि प्रहार पार्टीको घोषित नीति: वैद्य

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते ११:०२ मा प्रकाशित

काठमाण्डु, ९ कात्तिक– नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले निर्वाचन बहिस्कारका क्रममा एकीकृत माओवादी अध्यक्ष प्रचण्डमाथि पहिलो प्रहार गर्ने आफ्नो पार्टीको घोषित नीति रहेको स्वीकार गरेका छन् ।
mohan baidhya
काठमाण्डुको संवाद डबलीमा ‘राष्ट्रियता र राप्ति दुन’ नामक पुस्तकको शनिबार विमोचन गर्दै वैद्यले प्रचण्डको निर्वाचन अभियानका क्रममा आफ्ना कार्यकर्ताहरुबाट भइरहेका अवरोधलाई स्वभाविक रुपमा लिन आग्रह गरे ।

प्रचण्ड तुलनमात्मक रुपमा आफूहरुप्रति बढी आक्रामक र पूर्वाग्रही देखएिकाले उनीमाथि प्रहार लक्षित गरिएको वैद्यको भनाइ छ । ‘हामीप्रति सबैभन्दा बढी आक्रामक र पूर्वाग्रही प्रचण्ड नै हुन्’, वैद्यले भने, ‘त्यसैले जनआक्रोश पनि उनीप्रति नै बढी केन्द्रित हुन स्वभाविक हो ।’ वैद्यले नेपाललाई भुटानीकरण र सिक्किमीकरण गर्ने उद्देश्यका साथ ४ मंसिरमा संविधानसभा निर्वाचन हुन लागेकाले जनताले सशक्त बहिस्कार गर्ने बताए ।

उनले आफूहरु भूमिगत हुने मनस्थितिमा नरहेको र तत्काल सशस्त्र संघर्षको बाटोमा पनि नजाने प्रष्ट्याए । वैद्यले आफूहरु निर्वाचनका लागि लचक हुँदाहुँदै भारतीय डिजाइनमा पाखा लगाइएको भन्दै आक्रोश व्यक्त गरे ।

वैद्यले निर्वाचनमा सेना परिचालन हुनु नै आफूहरुको निर्वाचन बहिस्कार आन्दोलन सफल भएको रुपमा अथ्र्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us