तिहार आयो, मादलको बिक्री बढ्दो

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते १०:५० मा प्रकाशित

इटहरी, ९ कात्तिक– नेपालको सांस्कृतिक बाजामध्येको मादल पनि एक महत्वपूर्ण बाजाका रुपमा मानिन्छ । पश्चिम संस्कृतिका कारण नेपाली सांस्कृतिक बाजा लोप हुने अवस्थामा पुगेका बेला सुनसरीको धरानमा भने मादलको बिक्री फस्टाइ रहेको पाइएको छ ।

madalलामो समयदेखि खुकुरीको व्यापार गर्दै आएका अधिकारी परिवारका सबै नै खुकुरीको व्यापारसँगै मादल बिक्री पेसामा रमाउँदै आएका छन् । धरानका मुख्य भानु चोकका पूर्वको देसी लाइनमा दसकौँ अघिदेखि मादल र खुकुरीको व्यापार चलाउँदै आएका यदुनाथ अधिकारीसहितका अधिकारी परिवारले तिहार नजिकिँदै जाँदा खुकुरीको राम्रो व्यापार हुने गरेको बताएका छन् ।

बाह्रसयदेखि पाँच हजार रुपियाँसम्मका मादल बिक्रीका लागि पसलमा राख्ने गरेको जानकारी दिँदै मादल व्यापार अधिकारी परिवारका टेकनाथ अधिकारीले कहिले धेरै बिक्ने र कहिले बिक्दै नबिक्ने समस्या रहने गरेको बताए । मादल बिक्रीका लागि यदुनाथ अधिकारी, टेकनाथ अधिकारी, दवीन्द्र अधिकारी र लवीन्द्र अधिकारीलाई यतिखेर भ्याइनभ्याइ रहने गरेको छ ।

दाजुभाइ दवीन्द्र र लवीन्द्र अधिकारीका पसलमा कम्तीमा ५० देखि १०० वटा मादल पसलमा बिक्रीका लागि राखिएका छन्, तर काका यदुनाथ अधिकारी र भतिज टेकनाथको पसलमा भने १०० देखि २०० वटा मादल बिक्रीका लागि राखिएको टेकनाथ अधिकारीले बताए ।
पूर्वकै भोजपुरमध्ये पश्चिम नेपालमा निर्माण भएका मादल बिक्री गर्दै आएका अधिकारी परिवारले तिहार तथा विशेष चाडका समयमा मादल बिक्री हुने गरेको बताएका छन् । राम्रो बिक्री हुँदा मादलबाट पनि राम्रो आम्दानी हुने गरेको छ । खासगरी सुनसरी र पूर्वी नेपालका विभिन्न सहर र गाउँमा मादलको माग हुने गरेको पाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us