राजादेखि माओवादीसम्म अट्ने संविधान बन्नुपर्छः दाहाल

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते १०:३० मा प्रकाशित

raprapa nepalविराटनगर, ९ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य एवम् मोरङ क्षेत्र नं ६ का उम्मेदवार बल्लभप्रसाद दाहालले राजादेखि माओवादीसम्म अटाउने संविधान नबनेसम्म मुलुकले दिगो शान्ति नपाउने बताएका छन् ।

विराटनगर–२ मा शनिबार आयोजित चुनावी सभामा उनले अखण्ड नेपालसहित हिन्दू राज्य स्थापनाका लागि राप्रपा नेपाललाई बहुमतले विजयी गराउन आग्रह समेत गरे । ‘पाँच हजार वर्ष पुरानो हिन्दू धर्म रक्षाका लागि पुर्खाहरुले सुम्पेको जिम्मेवारी पूरा गर्न राप्रपा नेपालको विजय आवश्यक छ’ उनले बताए ।

यसैगरी राप्रपा नेपाल मोरङ क्षेत्र नं ४ का उम्मेदवार श्रीमती कला घिमिरेले सङ्कटग्रस्त रहेको राष्ट्रियतालाई जोगाउन आगामी निर्वाचनमा राप्रपा नेपालको विजय अपरिहार्य भएको बताइन् । मोरङको कर्सिया भलुवामा आयोजित चुनावी सभामा उनले विगतमा ठूला चार दलले दलीय संविधान ल्याउन खोजेकामा असफल भएको बताउँदै सबै नेपालीको साझा संविधान बनाउने कार्यमा राप्रपा नेपालको अभियानलाई  सहयोग गर्न पनि आग्रह गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us