कण्डम दिवसमा चेतनामूलक र्‍याली

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते ८:४७ मा प्रकाशित

candomवीरगञ्ज, ९ कात्तिक–  ‘दोहोरो सुरक्षाका लागि कन्डममा पहुँच बढाऔँ’ भन्ने मूल नाराका साथ १९ औं राष्ट्रिय कन्डम दिवस २०७० मनाइएको छ । दिवसका अवसरमा शनिबार वीरगञ्जमा विभिन्न सङ्घसंस्थाहरूले चेतनामूलक र्‍याली निकालिएको छ ।

जिल्ला एड्स समन्वय समिति पर्साको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्साको संयोजकत्वमा निकालिएको र्‍यालीमा सरकारी अधिकारीहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाका पदाधिकारी, विद्यार्थी तथा नागरिक समाजका व्यक्तिहरूको सहभागिता रहेको थियो । र्‍याली वीरगञ्ज घण्टाघरबाट सुरु भइ सहरका विभिन्न स्थान परिक्रमा पश्चात घण्टाघरमै आएर सभामा परिणत भएको थियो ।

सुरक्षा र सन्तुष्टिको सङ्गम, सुरक्षित यौन सम्पर्कका लागि कन्डम, कन्डमको सही प्रयोग आजको आवश्यकता तथा एचआइभी र एड्सबाट बच्नका लागि कन्डमको प्रयोग गरौँ भन्ने जस्ता विभिन्न नारा लेखिएका प्ले कार्ड बोेकेको सो र्‍याली घण्टाघर, माईस्थान, अलखियामठ र आदर्शनगरलगायत नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

सभामा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका निमित जनस्वास्थ्य अधिकृत सच्चितानन्द सिंहले यौनरोग, एचआइभी र एड्सको सङ्क्रमणबाट बच्न बचाउन तथा जन्मान्तर र परिवारको आकारलाई सीमित गर्नका लागि कन्डमको महत्वबारे चेतना अभिवृद्धि गर्नुपर्ने बताउँदै कन्डममा सबै वर्ग र समुदायको सहज पहुँच बढाउनुपर्ने आवशयकता औँल्याए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us