‘जनजाति आन्दोलनमा पश्चिमा,आइएनजीओ र इशाइको रुची’

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते ६:२० मा प्रकाशित

काठमाण्डु ९ कात्तिक–राष्ट्रिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले तराईमा सकभर एक प्रदेश बनाउने, त्यसो हुन नसकेमा दुईटा प्रदेश बनाउने षडयन्त्र सुरु भएको बताएका छन । Rajkumar-Lekhiतराई बहुप्रदेश अभियान यात्राका क्रममा अध्यक्ष लेखीले नेपालगञ्जमा संचारकर्मीहरु माझ लेखीले भने,‘केही सीमित मधेशवादी नेताहरुको व्यक्तिगत स्वार्थपूर्तिका लागि तराईलाई थोरै प्रदेशमा सिमित गर्ने षडयन्त्रलाई पुर्नजिवित गरिँदैछ । हामी यसो हुन दिँदैनौं, पहाडमा भन्दा तराईमा थोरै प्रदेश कुनै हालतमा मान्य हुँदैन ।’
नेपाली राजनीतिमा अतिवाद हावी हुँदै गएको भन्दै उनले संविधानसभाको आगामी चुनावमा अतिवादीहरुलाई परास्त गर्नुपर्नेमा जोड दिए । आदिवासी जनजाति आन्दोलनमा पनि अतिवादीहरु हावी हुन खोजेको भन्दै लेखीले भने, ‘आदिवासी जनजाति आन्दोलनभित्र पनि अतिवादी छन्, आदिवासी जनजाति आन्दोलनभित्र पनि ब्राम्हणवादी छन् ।’
नेपालको आदिवासी जनजाति आन्दोलनमा पश्चिमाहरु, आइ एनजीओहरु र क्रिश्चियन मिसिनरीहरुको ठूलो रुचि रहेको र आदिवासी जनजाति आन्दोलनलाई गलत दिसामा लैजान उनीहरुले प्रयास गरिरहेको लेखीले बताए । नेपाली मिडियाले आदिवासी जनजाति आन्दोलनलाई गलत रुपमा प्रस्तुत गरेको आरोप लगाउँदै लेखीले भने, ‘मिडियाले आदिवासी जनजातिभित्रका ब्राम्हणवादी, अतिवादी र डलरवादीहरुको धारणालाई मात्र प्रश्रय दिने गरेको छ । अतिवादी र डलरवादीहरुको धारणा नै समग्र आदिवासीहरुको तथा नेपाल आदिवासी जनजाति महासंघको धारणा हो भनेजस्तो गरी मिडियाले प्रचार गरिरहेको छ । नेपालका आदिवासी जनजातिहरुको साझा धारणा नेपाल आदिवासी जनजाति महासंघले मात्र व्यक्त गर्न सक्छ, कुनै अतिवादीहरुको धारणा समग्र आदिवासी जनजातिको धारणा हुन सक्दैन ।’
आदिवासी जनजाति आन्दोलनमा क्रिश्चियन मिसिनरीहरुको प्रभाव सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिँदै लेखीले भने, ‘क्रिश्चियन मिसिनरी हुन् या अन्य स्वार्थी आइएनजीओ हुन्, उनीहरुले आदिवासी जनजाति आन्दोलनलाई प्रभावित गर्न सकेका छैनन् तर प्रयास गरिरहेका छन् । हाम्रो उद्देश्य आदिवासी जनजातिको परम्परागत धार्मिक विश्वाश, संस्कृति, भाषा, रितिरिवाज संरक्षण र उत्थान गर्नु हो, विदेशीको पहिचान र धर्म ग्रहण गर्नु होइन ।’
पत्रकारहरुको प्रश्नको जवाफ दिँदै लेखीले भने,‘संघीयताको नाममा नेपालमा विदेशी पैसाको खोला बगेको छ र संघीयताको नाममा आएको विदेशी सहयोगले स्वयं संघीयतालाई भाँड्ने काम गरिरहेको छ । नेपालमा संघीयता सिकाउन आउने अन्तराष्ट्रिय शक्तिहरु र उनीहरुको लगानीको उद्देश्य संघीयता ल्याउने नभएर अस्थिरता सिर्जना गर्ने हो भन्ने हामीले बुझ्नुपर्छ । नेपाललाई अस्थिर बनाउन, यहाँ सद्भाव भड्काउन विदेशी लगानी आउने गरेको छ । हामीले नेपाली मोडेलको संघीयता स्थापित गर्नुपर्छ, हामीलाई जातीय राज्य चाहिएकै होइन र मागेका पनि छैनौं तर विदेशीहरु जातीय राज्य माग्न सिकाउँछन् ।’
ठूला भनिएका पार्टीहरु तथा विगत संविधानसभामा भाँडभैलो मच्चाउने पार्टीहरुले आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, पिछडावर्ग, दुर्गम क्षेत्र, विपन्न वर्गको मुद्दा छाडिसकेको अध्यक्ष लेखीले बताए । ‘अझै पाँच वर्ष संविधान बन्दैन, संविधानसभाको चुनाव परिणाम आएपछि दलहरु कुर्सीको खेलमा लाग्छन् र संविधान बनाउने काम बिर्सन्छन् । त्यसबेला सडकबाट संविानसभालाई घच्घच्याउने काम राष्ट्रिय नागरिक पार्टी (नेपाल) ले गर्नेछ, यो कामका लागि पनि हामी चुनावमा प्रत्यक्ष सहभागी नभएका हौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us