
ताप्लेजुङ, ९ कात्तिक– काठमाण्डुबाट पदाधिकारीसहित शीर्ष नेता सरकारले उपलब्ध गराएको पिएसओ छाडेर अर्धभूमिगत भइरहेका बेला ताप्लेजुङमा नेकपा–माओवादीका जिल्ला तथा गाउँस्तरका कार्यकर्ता पनि भूमिगत हुन थालेका छन् ।
सरकारी सुरक्षाकर्मीले पक्राउ गर्ने डरका कारण माओवादीका जिल्लातहसम्मका सबै नेता भूमिगत भएका छन् । जिल्ला इन्चार्ज सन्तोष पतङवा ‘सुमन’ र सचिव पर्शुराम पौडेल ‘राजन’ सहित अधिकांश नेता भूमिगत छन् ।
एकीकृत माओवादी ताप्लेजुङ–१ का उम्मेदवार सञ्चपाल मादेनमाथि आक्रमण गरेसँगै सरकारी सुरक्षाकर्मीले खोजी तीव्र पारेपछि वैद्य माओवादीका जिल्ला नेता भागेका हुन् । जिल्ला इन्चार्ज पतङवा स्वयम्ले आक्रमणको नेतृत्व गरेको एमाओवादी र प्रहरीको आरोप छ ।
चुनावी प्रचार सकेर सुतिरहेका बेला सुरक्षामा खटिएका प्रहरीलाई नियन्त्रणमा लिएर वैद्य कार्यकर्ताले जिल्लाको मेहेले गाविसमा शुक्रबार राति निर्घात कुटपिट गरेका थिए । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले उम्मेदवारमाथि आक्रमण गर्नेलाई पक्रन नेपाल प्रहरीका निरीक्षकको नेतृत्वमा ठूलो संख्यामा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए । पौडेलका अनुसार सदरमुकामबाट गएको सुरक्षाकर्मीको टोली घटनास्थल पुगिसेकको छ ।
यसैबीच वैद्य कार्यकर्ताको आक्रमणमा गम्भीर घाइते भएका उम्मेदवार मादेनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान वा काठमाण्डु पठाउने तयारी भएको छ ।
मादेनको टाउकामा गहिरो चोट लागेकाले सिटिस्क्यानका लागि बाहिर पठाउन लागिएको जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख सूर्य गुरुङले जानकारी दिए । मादेनको टाउको र ढाडसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।