बैद्यलाई जनअधिकार छिन्ने छुट नरहेको एमाओवादी प्रवक्ताको चेतावनी

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते १३:२० मा प्रकाशित

काठमाण्डु ९ कात्तिक–एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले जनअधिकार छिन्ने गरी  आत्मघाती कदम सञ्चालन गरेको बताएका छन । बैद्य नेतृत्वको माओवादीले सञ्चालन गरेका हिंसात्मक घटनालाई गैरराजनीतिक गतिबिधिको संज्ञा दिदै सापकोटाले आगामी मंसिर ४ गते हुने निर्वाचन नै अन्तिम भएको बताए । केहि दिन यता बैद्य नेतृत्वको माओवादीले मुलुकभर बिभिन्न राजनीतिक दलका उम्मेदवार माथि आक्रमण गर्ने र अध्यक्ष प्रचण्ड पुगेका जिल्ला बन्द गर्ने जस्ता गतिबिधि सञ्चालन गरिरहेका छन । agni sapkota
‘उहाँहरुलाई निर्वाचनमा भाग लिने अधिकार छ,निर्वाचन बहिस्कार गर्ने अधिकार पनि छ तर जनताका अधिकार छिन्ने अधिकार छैन’पार्टी मुख्यालय पेरिसडाँडामा शनिवार आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता सापकोटाले भने ‘उछृङखल घटना दोहोरिन नदिन सरकार सजग र सचेत हुदै कडा कदम चाल्नुपर्छ ।’ त्यस वारेमा आफनो पार्टीका अध्यक्ष प्रचण्डले मन्त्रिपरिषदका अध्यक्ष  खिलराज रेग्मीसँग छलफल गरीसकेको पनि उनले बताए ।
सिन्धुपाल्चोक  क्षेत्र नम्बर २ बाट संबिधानसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका सापकोटाले भने  ‘अव फेरी नेपालमा संबिधानसभा निर्वाचन हुँदैन । यो नै अन्तिम निर्वाचन हो ।’ निर्वाचनमा आफनो दलले एक सय ३० देखि एक सय ५० सिट प्रत्यक्ष तर्फ ल्याउन अनुमान गर्दै सापकोटाले  एजेण्डा मिल्ने अशोक राइले नेतृत्व गरेको संघीय समाजवादी पार्टी र उपेन्द्र यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरमसँग केहि क्षेत्रमा तालमेल हुन सक्ने पनि बताए । उनले भने ‘त्यस वारेमा कुराकानी चलिरहेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us