१२ बुँदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सकियो

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते १:५९ मा प्रकाशित

काठमाण्डु, ९ कात्तिक–विश्व नेपाली साहित्य महासंघको आयोजनामा भएको ‘प्रथम विश्व नेपाली साहित्य सम्मेलन’ ले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय भाषामा अनुवाद गर्ने कार्यलाई जोडतोडले आगाडि बढाउनुपर्ने लगायतका १२ बुँदे काठमाण्डु घोषणापत्र जारी गर्दै सकिएको छ ।
‘नेपाली साहित्य नेपाली पहिचान, समृद्ध सहित्य हाम्रो आधार’ भन्ने मूल नाराका साथ सुरु भएको सो सम्मेलनले नेपाली परिचयलाई देशविदेशमा सम्मानित र उच्च पहिचानयुक्त बनाउन काम गर्ने, विश्वभरका नेपाली स्रष्टालाई समेटी तत्कालै विश्वव्यापी साहित्यक कार्यक्रम सञ्चालन गर्ने, नेपाली पहिचान बोक्ने भाषाभाषीको विकास प्रवद्र्धन र विस्तारका लागि काम गर्नेलगायतका १२ बुँदा घोषणापत्रमा समेटिएको छ ।
सो अवसरमा भारतका वरिष्ठ साहित्यकार डा राजेन्द्र भण्डारीलाई ‘विश्व नेपाली साहित्य पुरस्कार’ प्रदान गरियो भने कवि विमला तुम्खेवालाई ‘विश्व नेपाली साहित्य युवा पुरस्कार’, मैथिलीभाषी साहित्यकार श्यामसुन्दर यादव पथिकलाई ‘विश्व नेपाली साहित्य महासंघ भाषाभाषी साहित्य पुरस्कार’ तथा साहित्यकार किशोर पहाडीलाई ‘विश्व नेपाली साहित्य सम्मान’ प्रदान गरियो । उक्त पुरस्कारका राशिमा क्रमशः ५० हजार रुपैया, २५ हजार रुपैया र १० हजार रुपैया रहेको छ ।
त्यस्तै विश्व नेपाली प्रचारप्रसारमा योगदान पु¥याएको भन्दै राष्ट्रिय समाचार समितिका सम्पादक श्याम रिमाललाई आभारपत्र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काईलाले प्रदान गरेका छन । सो अवसरमा डा गोविन्दराज भट्टराईद्वारा प्रस्तुत ‘वर्तमान विश्व परिस्थितिमा नेपाली अनुवादको प्रसङ्ग’, युवा साहित्यकार महेश पौडेलले ‘अङ्ग्रेजी भाषामा नेपाली साहित्यः एक सर्वेक्षण’, साहित्यकार अमर तुम्याहाङले नेपालका मातृभाषाबारे कार्यपत्र प्रस्तुत गर्नुका साथै महासंघको मुखपत्र ‘साहित्य संसार’, सपना गौतमद्वारा लिखित ‘सपना सिन्धु’, सुरेन्द्र इन्ङोनाम ‘चोट दिएपछि’, रुसी भाषामा अनुवादित नेपाली रामायण ‘लोकको गरुँ हित भनी’, भारतका साहित्यकार रेवतीमोहन तिम्सिनाको लघुकथा ‘माकुरकुर’ नामक कृतिको विमोचन गरिएकोे थियो ।
महासंघका अध्यक्ष विश्वासदीप तिगेलाले नेपाली पहिचान बोकेका नेपाली भाषा साहित्यलाई विश्वभर प्रचारप्रसार गर्न आफूहरू प्रयत्नशील रहने र छिट्टै नेपाल नेपाली उत्कृष्ट तीन दर्जन कवितालाई चिनियाँ र हिन्दी भाषामा अनुवाद गरी प्रकाशन गर्ने बताए ।
सो अवसरमा भारतीय साहित्यकार डा राजेन्द्र भण्डारी, भारतीय साहित्य आकादामी परामर्श समितिका अध्यक्ष (कुलपति) प्रेम प्रधान, काशीहिन्दु विश्वविद्यालय वनारसका भारतीय भाषा विभागका अध्यक्ष प्राडा दिवाकर प्रधान, सिक्किम विश्वविद्यालय नेपाली विभाग प्रमुख प्राडा कविता लामालगायतले नेपाललाई बौद्ध धर्मको देश भनेर घोषणा गर्नुपर्ने भन्दै नेपालीहरू कथाकथित जातीय विवादमा नपरी अखण्ड नेपाल बनाउनुपर्ने सुझाव दिएका थिए ।
सो सम्मेलनमा नेपाल, भारत, म्यान्मा, भियतमान, भूटानलगायतका गैरआवासीय नेपाली साहित्यकार गरी १५० जना प्रतिनिधिको सहभागिता रहेको थियो भने महासङ्घको उत्कृट शाखा इजरायल र उत्कृष्ट स्रस्टा नेपालका रमेश कँडेललाई घोषणासमेत गरेका थिए ।
नेपाली साहित्यको विकास, विस्तार र सम्वद्र्धनका लागि विसं २०६७ असार २९ गते स्थापित महासंघको हालसम्म विश्वका १४ मुलुकमा १८ शाखा निर्माण भई सञ्चालनमा छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us