नेपाल–भारत सडक संरचना परियोजना बैठक

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते १४:५३ मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक–तराई क्षेत्रमा सडक संरचना सुदृढीकरणसम्बन्धी परियोजना सञ्चालक समितिको छैटौं बैठक निर्माणका कार्य तत्काल सुरु गर्ने सहमति भएको छ ।
नेपाल र भारतका अधिकारीहरू सम्मिलित दुई दिनसम्म भएको सञ्चालक समितिको बैठकमा  परियोजनाको कार्यान्वयन चाँडो गर्न तथा विद्यमान समस्या समाधान गर्ने उद्देश्यले परियोजनाको प्रथम चरणअन्तर्गत कुल ६०५ किलोमिटर लम्बाइका १९ वटा तराई सडक निर्माणमा भएको प्रगतिको समीक्षा भएको यहाँस्थित भारतीय राजदूतावासका प्रवक्ता अभयकुमारले बताए ।
बैठकले विभिन्न कारणहरुले उक्त परियोजना अन्तर्गत विभिन्न ठेकेदारहरुलाई काम गर्न दिइएका सडक खण्डहरूको निर्माणमा भएको ढिलाईलाई दृष्टिगत गरी  निर्माण कार्यलाई प्राथमिकतामा राखेर तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी पनि उनले दिए ।
उनका अनुसार काम गर्न कठिनाई नभएका सडक खण्डहरुको निर्माण तत्काल शुरु गर्ने र समस्या भएका बाँकी खण्डमा समस्या समाधान भएपछि शुरु गर्ने निर्णय गरेको छ । ती सडकलाई उपयुक्त ढङ्गले सञ्चालन गर्न नियमितरुपमा मर्मत–सम्भार गर्नेमा पनि बैठकमा पुनः प्रतिबद्धता जाहेर भएको थियो ।
बैठकमा भारतीय पक्षको नेतृत्व त्यहाँको विदेश मामला मन्त्रालयका सहसचिव अभय ठाकुरले नेतृत्व गरेका थिए भने नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुदर्शनराम भण्डारीले गरेका थिए ।
बैठकमा दुवै मुलुकका सम्बन्धित निकायका अधिकारीहरु र परामर्शदाता तथा ठेकेदार कम्पनीका प्रतिनिधिका साथै सडक विभाग, अर्थ र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकृत थिए ।
भारतीय टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री छविराज पन्त र सचिव तुलसीप्रसाद सिटौलासँग बेग्लाबेग्लै आजै भेटवार्ता ग¥यो । टोलीले बारा र पर्सा जिल्लाका दुई सडक परियोजनाको भ्रमण गरी स्थलगत जानकारी लिएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us