
काठमाण्डु, ८ कात्तिक– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले चुनाव बहिस्कार अभियानका क्रममा विभिन्न जिल्लामा पक्राउ परेका आफ्ना कार्यकर्ताको तत्काल रिहाई नगरे कडा संघर्षमा उत्रने चेतावनी दिएको छ ।
प्रवक्ता पम्फा भुसालले शुत्रबार विज्ञप्ति जारी गरी रामेछापसहित विभिन्न स्थानबाट पक्राउ परेका कार्यकर्ताको तत्काल रिहाईको माग गरेकी छन् । उनले निर्वाचन बहिस्कार गर्न पाउने लोकतान्त्रिक अधिकारविपरीत आफ्ना कार्यकर्ता पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी छन् ।
निर्वाचनजस्तो आन्तरिक मामिलामा सेना परिचालन गरी देशलाई गृहयुद्धमा धकेल्ने षड्यन्त्र गरिएको र शान्तिपूर्ण बहिस्कारका लागेकाहरुलाई गिरफ्तार गरी फाासिवाद उन्मुख चरित्र प्रदर्शन गरिएको आरोप भुसालले लगाएकी छन् ।
‘जनताको लोकतान्त्रिक अभ्यासलाई अवरोध पुर्याउने यसप्रकारको सरकारी कार्यप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । गिरफ्तार गरिएका कार्यकर्ताहरु सबैलाई रिहा गरी बहिस्कार गर्न पाउने लोकतान्त्रिक अधिकारको सम्मान गरियोस् ।
अन्यथा कडा संघर्षको विकल्प नहुने र त्यसको जिम्मा कठपुतली सरकारको हुनेछ’, विज्ञप्तिमा भुसालले भनेकी छन् । उनले राजनीतिक सहमति र संविधानको मर्मविपरीत विदेशीको प्रायोजनमा चार दल र कठपुतली सरकारले कथित संविधानसभा निर्वाचनका नाममा मंसिर ४ मा नौटंकी प्रदर्शन गर्न खोजेको आरोप उनको छ ।